• २१ वैशाख २०८१, शुक्रबार

नगरले लगतकट्टाको काम नगर्दा कर्जा प्रवाहमा समस्या

blog

रास्कोट नगरपालिकाको कार्यालय । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, फागुन १८ गते ।
कालीकोटको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको एक वर्ष पुग्दै छ । नगरपालिकामा बैंक स्थापना भएसँगै रास्कोटका नागरिकलाई  सेवा पाउने आस थियो । तर बैंक स्थापना भएको एक वर्ष वित्नै लाग्दा पनि नगरपालिकाले सडकको लगत कट्टाको काम नगर्दा घर जग्गा धितो राखेर कारोवार गर्ने काम ठप्प छ ।

नगरपालिकाले समयमा जग्गाको लगतकट्टा नगरेका कारणले यहाँका व्यापारीले घर जग्गा धितो राखेर कर्जा लिन पाएका छैनन् । रास्कोट २ मा टेलर्स सञ्चालन गर्दै आउनु भएका शान्ता कुमारी रोकाले व्यवसाय कर्जाका लागि धेरै पटक बैंकमा अनुरोध गर्नुभयो । तर सडक भएपनि सडकको लगत कट्टा नभएकाले घर, घरेडी धितो राखेर कर्जा दिन नसक्ने बैंकले भनेपछि उहाँ निरास हुनुभयो ।

यसैगरी, रास्कोट १ का भानुप्रसाद आचार्यले पनि व्यापारी कर्जा लिन धेरै प्रयास गर्नुभयो । उहाँको समस्या जग्गाको लगत कट्टा नभएकै कारणले बैंकबाट कर्जा लिन पाउनुभएन ।

राष्ट्रिय वाणिज्य बैंक रास्कोट शाखाका प्रबन्धक बिनोद शर्माले प्रयास सेवाग्राहीहरु व्यापारी कर्जाका लागि आउने गरेको पुष्टि गर्नुभयो ।

उहाँले पनि नगरपालिकाले समयमै लगतकट्टाको काम नगरेले बैंकले कर्जा प्रवाह गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले अन्य कर्जा जस्तै रास्ट सेवक, सरल पेसाकर्मी, होमलोन, शिक्षक कर्जा र सुनकर्जाको काम भए पनि व्यापारी कर्जामा लगतकट्टाकै कारणले रोकिएको जानकारी दिनुभयो ।

प्रबन्धक शर्माले होम कर्जामा पनि बाटोमा घर छ, तर नक्सामा बाटो नदेखाएका कारणले त्यो सेवाग्राहीले कर्जाको सेवा पाउन नसकेको बताउनुभयो । अहिले सान्नीघाटदेखि बडिमालीका विद्यालयसम्मको सडक मात्र नक्सामा देखिन्छ ।

वडा नं ४, ३, २, १ का साथै वडा नं ७, ८ र ९ मा सडक भए पनि लगतकट्टा नभएकाले नक्सामा नदेखिने हुँदा कर्जाबाट सेवाग्राही बञ्चित भएका छन् । यसैगरी, नगरका प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले लगत कट्टाको काम अगाडि बढ्न नसकेका बताउनुभयो । उहाँले पैसा धेरै लाग्ने भएकाले नगरमा बजेटको अभाव हुँदा काम अगाडि बढाउन नसकेको प्रतिक्रिया दिनुभयो ।

सडक सबै तिर बनेपनि लगत कट्टा नहुँदा हरेक सेवा लिन रास्कोट नगरपालिकामा समस्या भइरहेको छ । नगर प्रमुख धर्मराज शाहीले अन्यत्र नागरिकलाई भन्दा पनि आफुलाई लाभ हुने खालमा कार्यक्रम बनाउने भएकाले पनि समस्या हुँदै आएको छ ।