• १३ असोज २०८१, आइतबार

विद्यार्थीका लागि चित्रकला तालिम

blog

काठमाडौँ, फागुन १४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबिच ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत महानगरभित्रका नौ विद्यालयका १९ समूहमा ‘स्केचिङ एन्ड स्कप्चर’ ‘क’ तालिम असोज महिनाबाट सुरु भएको थियो । 

काठमाडौँ महानगरपालिकाभित्रका विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), रत्नराज्य माध्यमिक विद्यालय (पुरानो बानेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (बाफल), तरुण माध्यमिक विद्यालय (बालाजु), गीतामाता माध्यमिक विद्यालय (विजेश्वरी), कन्या मन्दिर माध्यमिक विद्यालय (न्ह्योखा), सहिद शुक्र माध्यमिक विद्यालय (बागबजार), पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय (डिल्लीबजार) तथा कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर) मा सञ्चालन भएको थियो । गीतामाता माध्यमिक विद्यालय (विजेश्वरी) र कन्या मन्दिर माध्यमिक  विद्यालय (न्ह्योखा) मा विद्यार्थीले तालिमका क्रममा पाएको ज्ञानका आधारमा तयार गर्नुभएका कलाकृतिको प्रदर्शनीसमेत भइसकेको छ भने बाँकी विद्यालयमा तालिम अन्तिम चरणमा पुगेको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले बनाएको अवधारणा अनुसार भएको यो कार्य सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फेरि पनि यस्तो कार्यक्रम थपेर सञ्चालन गर्नुपर्ने बोध गरेको छु । शिक्षा भनेको सिर्जनशील रूपमा बाल मनोविज्ञानलाई प्रेरित गर्नु पर्छ । यस कार्यका लागि महानगरले आधिकारिक निकाएका रूपमा प्रतिष्ठानलाई चुनेकोमा हामी हर्षित छौँ ।”

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले महानगरपालिकाले गरेको यस कार्यका लागि कला क्षेत्रका तर्फबाटै धन्यवाद दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई यस्ता खाले कार्यक्रमले सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गरेको छ ।” प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले काठमाडौँ महानगरसँग मिलेर गरेको कामबाट प्रतिष्ठान थप उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रमले विद्यार्थीलाई सिर्जनशील बनाउन अभिप्रेरित गरेको छ । धेरै ठाउँबाट आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्छ भन्ने प्रतिक्रिया पनि आएको छ ।”

प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभाग प्रमुख सौरगङ्गा दर्शनधारी यस तालिमले कलाकारलाई विद्यार्थीसँग काम गर्ने अवसर जुटाइदिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विद्यालयका भाइबहिनीलाई कला पनि पढ्नुपर्ने रहेछ । देश र अन्तर्राष्ट्रियस्तरमा नाम कमाउने बाटो रहेछ भन्ने ज्ञान भएको छ । महानगरले गरेको यो कामबाट एकदम खुसी छु ।”