• २६ पुस २०८१, शुक्रबार

महासमितिमा उठेका सुझावहरू प्रस्तुत गर्दै प्रदेश सभापति

blog

काठमाडौं, फागुन १० गते । नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरूले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको चौथो दिन बन्द सत्रमा महासमिति बैठकमा उठेका सुझावहरूलाई केन्द्रीय पदाधिकारीहरूसहितको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको हो ।

मङ्गलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभरि महासमिति सदस्यहरूले चार समूहमा रहेर समूहगत छलफल गर्नुभएको हो ।

महासमिति सदस्यहरूले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरू, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।  महासमिति बैठकको समापन पनि आज नै गरिने नेपाली कांग्रेसका महासमिति बैठकका प्रचार प्रसार संयोजक मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।