सिकाइ कोक्रोदेखि कात्रोसम्म अर्थात् जन्मदेखि मृत्युसम्म आजीवन चलिरहने प्रक्रिया हो । यही प्रक्रियाले नै जीवनोपयोगी ज्ञान र सिप हासिल गर्न सकिन्छ । ती ज्ञान र सिप अनौपचारिक र औपचारिक दुवै माध्यमबाट प्राप्त हुन्छन् । विज्ञान र प्रविधिको आज तीव्र गतिमा विकास र विस्तार भइरहेको छ । त्यसैले कतिपय सन्दर्भमा औपचारिक शिक्षाका विषयवस्तु असान्दर्भिक भई सक्छन् । आफूमा भएका मौजुदा ज्ञान र सिपलाई निरन्तर अद्यावधिक गरी जीवन सफल बनाउन सक्नु पर्छ । व्यवस्थित र सर्वसुलभ शिक्षाको विकास र विस्तार गरी साक्षरता दर बढाउनु पनि आजको आवश्यकता हो ।
साक्षरता मानवको सशक्तीकरण र समृद्धिको प्रस्थान बिन्दु हो । जीवनमा उन्नतिको खुड्किला पछ्याउने दीप तथा चढ्ने बैसाखी हो । साक्षर व्यक्तिको जीवनोपयोगी साधनस्रोतमा सहज पहुँचको सुनिश्चितता हुन्छ । व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटित गरी सफलता हासिल गर्न पनि यसले सघाउँछ । साथै जति खर्च ग¥यो, त्यति बढ्ने सर्वश्रेष्ठ पुँजी पनि हो ज्ञान । यसले व्यक्तिको स्तरोन्नतिका लागि गरिबी, रोग, भोक, रूढिवादी एवं अन्धविश्वासलगायत पछौटेपनबाट टाढा राख्छ । मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो उघार्छ । विज्ञान र प्रविधिको द्रुत गतिमा भएका ज्ञान एवं सिपसँग साक्षात्कार गर्दै प्रविधि र समृद्धि भित्र्याउन सघाउँछ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । औपचारिक र अनौपचारिक शिक्षाबाट विभिन्न कारणले विमुख भएका जनसमुदायलाई समेट्ने गरी वैकल्पिक शिक्षाका माध्यम अपनाउन थालिएको छ । त्यस्तै उनीहरूमा भएको मौजुदा योग्यता परीक्षण गरी निरन्तर शिक्षातर्फ आकर्षण गर्न राष्ट्रिय योग्यता प्रारूपको थालनीको आधार तयार गरिँदै छ । त्यस्तै विद्यालय शिक्षामा रहेको पाठ्यक्रमका विषयवस्तुलाई आवश्यकताका आधारमा समायोजन गरी वैकल्पिक माध्यमबाट पठनपाठनका लागि समेत अध्ययन सामग्री उत्पादनले तीव्रता पाएको छ ।
सामाजिक रूपान्तरण गरी देश विकास गर्न कुनै पनि देशको साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो । साक्षरता प्रतिशत र देश विकासको गति सामनुपातिक रूपमा अगाडि बढ्छ । राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार नेपालमा गरिबीको रेखामुनिका जनता अझै २५.४ प्रतिशत छन् । अशिक्षाले गर्दा गरिबी र गरिबीले गर्दा अशिक्षाको निरन्तर चलिरहने दुष्चक्रलाई तोड्न साक्षरता निर्विकल्प अस्त्र हो ।
विसं २००७ मा नेपालको साक्षरता दुई प्रतिशत थियो । प्रजातन्त्रको अभ्युदयपश्चात् विभिन्न रूपमा साक्षरता कार्यक्रम सञ्चालन हुँदै आएको पाइन्छ तर सात दशकभन्दा लामो अवधि खर्चिंदा पनि वर्षको एक प्रतिशतका दरले पनि साक्षरतामा प्रगति भएको देखिँदैन । महिला र पुरुषबिचको साक्षरता खाडल २२ प्रतिशत छ । यस्तो न्यून साक्षरता प्रतिशत भएको मानवीय साधनस्रोतबाट देश विकासमा उल्लेख्य योगदानको अपेक्षा गर्न सकिँदैन । सदिआँैदेखि समाजलाई गाँजेर बसेको निरक्षरतालाई चुट्कीको भरमा निर्मूल पार्न पनि सकिँदैन ।
साक्षर नेपाल अभियान काम हो बखान होइन । यसरी लामो समयसम्म साक्षरता कक्षाहरू सञ्चालन गर्दा पनि आशातीत उपलब्धि हासिल किन गर्न सकिएन ? अध्ययनको विषय बन्नु पर्छ । के विगतका साक्षरतासम्बन्धी योजना तथा कार्यक्रम भरपर्दो तथ्याङ्कमा आधारित थिए त ? पुनर्विचार गर्ने बेला आएको छ । साक्षरतासम्बन्धी विस्तृत र अद्यावधिक तथ्याङ्कको अभिलेखीकरण कसरी राख्न सकिएला ? यी र यस्तै मुद्दाको पर्याप्त अध्ययन अनुसन्धानको आधारमा कार्यक्रमहरू यकिन गर्नु पर्छ । साक्षरता प्रतिशतलाई यथाशक्य छिटो बढाउन नेपाल सरकारले १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरूका लागि साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । नेपाल जस्तो आर्थिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि तथा जातीय विविधता भौगोलिक विकटता भएको देशमा साक्षरता अभियान लक्ष्यमा पुग्न विभिन्न खाले समस्या र चुनौती सामना गर्नु स्वाभाविकै हो । दिगो र भरपर्दो अद्यावधिक तथ्याङ्कको व्यवस्थापन अभावमा विगतका साक्षरता कार्यक्रमको उपलब्धि ‘हिँड्दै छ पाइला मेट्दै छ’ जस्तै भएको छ । आगामी दिनमा तथ्याङ्कको वैधता र विश्वसनीयतालाई उच्च प्राथमिकता दिएर नामनामेसी सङ्कलन र व्यवस्थापन हुनु पर्छ ।
साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीको सामना गर्न नपर्ला भन्न सकिन्न । साक्षरता कक्षामा अनियमितता तथा बिचमा कक्षा छाड्ने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सक्नु पर्छ । साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान र सिपमा समयसापेक्ष रूपमा परिमार्जन र परिष्कृत गर्दै पेसागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन गर्नु पर्छ । साक्षरतालाई निरक्षरले अपनाइ आएको पेसामैत्री बनाएर कहरले नभई रहरले पढ्ने वातावरण सिर्जना गर्नु पर्छ । साक्षरताले नाना, छाना र खाना सुनिश्चित गर्न टेवा पु¥याउनु पर्छ । सहभागीले दैनिक भोगेका समस्या र चुनौतीलाई सम्बोधनका लागि दक्षता आर्जन गर्ने खालका विषयवस्तुले साक्षरताप्रति उनीहरूको चाहना र विश्वास बढाउन सक्छ ।
साक्षरताको ज्ञान र सिप कैँचीका दुई धार जस्तै हुन् । एउटा धार बोधो (भुत्ते) भए अर्को जतिसुकै धारिलो भए पनि निरर्थक हुन्छ । त्यसैले साक्षरतालाई सिपसँग जोड्ने कार्यक्रम सुरुवात गरिनु पर्छ । साक्षरता कार्यक्रमलाई सशक्त, व्यापक र प्रतिफलमुखी बनाउन सार्वजनिक सरकारी अवधारणा अनुसार विकेन्द्रित रूपमा सञ्चालन गर्ने नीति आवश्यक देखिन्छ । निरक्षरताको कारण आइलागेको अन्धविश्वास र पछौटेपन यथाशक्य छिटो छिमल्न प्रत्येक नागरिक साक्षर हुँदै शिक्षित हुनुको विकल्प छैन । साक्षरता कार्यक्रम र अभियानलाई सरकार र सरोकार पक्षको जवाफदेहीपूर्ण सहकार्यको खाँचो पर्छ । नेपाललाई निरक्षरतामुक्त राष्ट्र बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको जवाफदेही र जिम्मेवारी तोकिनु पर्छ । साक्षरता शिक्षालाई उपलब्धिमूलक बनाउन परम्परागत विधि र विषयलाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लानु बुद्धिमानी ठहर्छ । अब निरक्षरहरू पढ्न साक्षरता कक्षामा आउनु पर्छ भन्ने पुरातन सोचलाई तोड्दै साक्षरता कक्षा नै निरक्षरसम्म पुग्नु पर्छ । सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएका जातजाति र सीमान्त एवं विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनु पर्छ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामूलक एवं विकेन्द्रीकृत गर्दै साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयम्सेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन हुनु पर्छ । निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातिलाई नै रोजगारीको प्राथमिकता दिइने नीति लाभदायक हुन्छ नै । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने संवैधानिक व्यवस्थालाई प्रत्याभूति गर्दै जाने नीति अनुरूप नेपालीलगायत अन्य मातृभाषामा समुदायको माग अनुसार पाठ्यक्रम र पाठ्पुस्तक विकास गरी पठनपाठनको व्यवस्था गरिनु पर्छ ।
समाजमा वर्षौंदेखि जरा गाडेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सबै सङ्घ, संस्था र व्यक्तिको सामूहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात स) अपरिहार्य हुन्छ । साक्षरता अभियानलाई सफल पार्न सबैका लागि साक्षरता अभियान र साक्षरता अभियानका लागि सबै भन्ने सद्वाक्यलाई व्यवहारमा उतार्ने अठोट गरेमा सबैखाले पछौटेपनको कारक निरक्षरताको दलदलबाट बाहिर निस्कन सकिन्छ ।