तिलाचन पाण्डे
तम्घास, माघ २० गते । गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो ।
जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नाँपजाँचको काम भइरहेको ठकुरीले बताउनुभयो । मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकामा पहिलो चरणको नाँपजाँच कार्य सम्पन्न भएको र चेकजाँचको साथमा प्रमाणीकरणको कार्य भइरहेको मल्लले बताउनुभयो । यस्तै, चन्द्रकोट गाउँपालिकामा नाँपजाँचको काम भइरहेको उहाँको भनाइ छ ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले भूमिहीनका लागि जग्गाको मालिक बनाउन स्थानीय सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो । पालिका भित्रका नागरिकलाई जग्गाको मालिक बनाउन आफूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।
स्थानीय तहमा निस्सा वितरण
जिल्लाका १० स्थानीय तहमा निस्सा वितरण गरिएको जिल्ला समितिले जनाएको छ । रेसुङ्गा नगरपालिका र इश्मा गाउँपालिका बाहेकका स्थानीय तहमा निस्सा वितरणको कार्य सम्पन्न भइसकेको जिल्ला अध्यक्ष ठकुरीले बताउनुभयो ।
१० स्थानीय तहमा कूल एक हजार ३८० लाभग्राहीलाई निस्सा वितरण गरिएको सदस्य सीता बलालले जानकारी दिनुभयो । लाभग्राहीहरूले प्राप्त गरेको निस्साको आधारमा जग्गा नाँपजाँचको कार्य हुने भएकाले पहिलो प्रमाण नै निस्सा रहेको उहाँको भनाइ छ । बाँकी दुई स्थानीय तहको निस्सा तयार भइसकेकाले स्थानीय तहको समन्वयमा निस्सा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा भूमिहीन दलित ३०८, भूमिहीन सुकुम्वासी २६१ र अव्यवस्थित बसोबासी एक हजार ९८४ जना गरी कूल दुई हजार ५५३ जनाले आवेदन दिएका छन् ।