भारतको उत्तरप्रदेशस्थित काशी विश्वनाथ कोरिडोर निर्माणपछि वाराणसीको महत्वपूर्ण स्थल भएको छ ललिताघाट । यहीँ ललिताघाटमा काशी विश्वनाथ मन्दिरको मूल प्रवेशद्वार निर्माण भएको छ । ललिताघाट परापूर्वकालमा नेपालीघाट थियो । तत्कालीन काशी नरेशले नेपालको राजालाई पत्राचार गर्दा नेपालीघाट नै उल्लेख गरेकोले काशीको राजदरबारको अभिलेखमा अद्यावधिक नेपालीघाट नै छ भन्ने प्रमाण हो । काशी विश्वनाथमा चढाइएको गङ्गाजल, दुध यहीँ घाटमा पुनः विसर्जन हुन्छ । काशी विश्वनाथमा पूजाका लागि यहाँबाट नै काँधमा बोकेर गङ्गाजल लैजान्छन् । अर्थात् सबैभन्दा नजिकको घाट ललिताघाट नै हो, जहाँबाट काशी विश्वनाथ मन्दिर देखिने गरी प्रवेशद्वार निर्माण भएको छ । त्यसै कारण काशी विश्वनाथ दर्शन गर्न आउने तीर्थयात्रीको पहिलो दृष्टि नेपाली मन्दिर मै पर्छ । बनारस हिन्दु विश्वविद्यालय ९द्यज्ग्० को सङ्ग्रहालयमा प्रदर्शन गरिएको गङ्गाघाटहरूको तैलचित्रमा राजराजेश्वरीघाट र ललिताघाट लेखिएको छ । जेम्स प्रिन्सेफ सन् १८२२ मा वाराणसी सहरको सर्वेक्षण गरी तयार गरेको नक्सामा राजराजेश्वरी र ललिताघाट उल्लेख छ ।
राजराजेश्वरी र ललितत्रिपुरसुन्दरी क्रमशः स्वामी महाराजको नामले प्रसिद्ध नेपालको राजा रणबहादुर शाहकी जेठी एवं कान्छी महारानी हुन । यसै घाटको माथि प्रसिद्ध राजराजेश्वरी मन्दिर छ भने घाटमै ललितागौरीको मन्दिर छ । ललितागौरी मन्दिर नजिकै स्वामी महाराजले ध्यान गर्ने कलात्मक गुम्बजशैलीको प्रस्तरको आसन छ भने तल विष्णु मन्दिर छ, जहाँ पानीको सतह तल हुँदा जपध्यान गर्न अति मनोहर छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म विष्णु मन्दिर डुबानको कारण प्राकृतिक रूपमै बन्द हुन्छ । अधिकतम पानीको सतहलाई हिसाब गरेर ललितागौरीको पाउ, गङ्गाकेशव र रणमुक्तेश्वर मन्दिर निर्माण गरिएको छ । यी मन्दिरहरू गुफा जस्तो बनाइएको छ, जहाँ अत्यधिक गर्मीमा पनि शीतल हुन्छ । यसबारे नेपालको इतिहास मौन छ । नेपाल सरकारका सम्बन्धित निकायसित कुनै प्रमाण छैन । ललितत्रिपुरसुन्दरी दुई वर्ष काशीवासमा रहँदा स्थापना गरिएका कीर्तिहरूबारे कतै उल्लेख छैन । नरेन्द्रराज प्रसाइद्वारा लिखित ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ पुस्तकको तेस्रो संस्करणमा उल्लेख गरिएको छ ।
यिनै मन्दिरहरूका माथि राजा राजेन्द्रकी जेठी महारानी साम्राज्यलक्ष्मीको अन्तिम इच्छा पूरा गर्न युवराज सुरेन्द्रले विसं. १८९८/१९०० सम्ममा शिवालय र चौघरा निर्माण गरेका हुन् । यो व्यहोरा मन्दिरको गजुरमा लेखिएको छ । पशुपतिनाथ मन्दिर शैलीमा निर्माण भएकोले भक्तजनले पशुपतिनाथ मन्दिर भन्छन् भने विदेशी पर्यटकहरूका लागि नेपाली मन्दिर हो । तर महारानी साम्राज्यलक्ष्मीको इच्छा पूरा गर्न निर्माण गरिएकोले गुठी संस्थानको अभिलेखमा साम्राज्येश्वर महादेव मन्दिर लेखिएको छ । मन्दिर, धर्मशालाको संरक्षण, संवर्धन, नित्यपूजा, विशेष पूजा आदिका लागि नेपालकै पर्सा जिल्लामा एक हजार ७१२ बिघा पाँच कट्ठा ११ धुर जग्गा काशी साम्राज्येश्वर गुठीको नाममा व्यवस्था गरिएको छ ।
मन्दिर परिसरमा अवैध निर्माण र अतिक्रमण
पुरातत्व विभागले पछिल्लो पटक आव ०५०/५१ (सन् १९९३) मा जिर्णोद्धार कार्य प्रारम्भ गर्नुअघि तीन दशकसम्म नेपालीको दृष्टिबाट मात्र होइन गुठी संस्थानसमेतको दृष्टिबाट ओझेलमा परेको समयमा मन्दिर परिसरमा ललिताघाटबाट नदेखिने गरी विद्यालय भवन निर्माण भयो । ललितागौरीको पाउ र रणमुक्तेश्वर महादेव मन्दिरलाई अतिक्रमण गरेर मौनी बाबाको प्रतीमा राखेर स्वामी गजानन्द सरस्वती उर्फ गुलाब यादवले आफ्नो नाममा कागज नै बनाए । नेपाली मन्दिर परिसरमै गङ्गाजी जाने बाटोमा एउटा शिवालय बनाए । राजराजेश्वरी मन्दिर, विष्णु मन्दिर, ललितागौरी मन्दिरको स्वामित्वबारे बोल्ने कुनै प्रमाण देखाउन सकेका छैनौँ । स्वामी महाराजका साथ काशीवासमा रहनुभएका जेठी महारानी, भीमसेन थापा, रङ्गनाथ पौड्याललगायत ५० जना र स्वामी महाराजको हत्यापछि कान्छी महारानी ललितत्रिपुरसुन्दरी कुन ठाउँमा बसे यकिन भन्ने अवस्था छैन । त्यस्तै जङ्गबहादुरको उदयपश्चात् राजा राजेन्द्रकी कान्छी महारानी दुई छोराका साथ कहाँ बसे कतै उल्लेख गरिएको पाइँदैन । हुन त विसं. १९०० मा युवराज सुरेन्द्रद्वारा आफ्नी आमा साम्राज्यलक्ष्मी (राजा राजेन्द्रकी जेठी महारानी) को अन्तिम इच्छा पूरा गर्न निर्माण गरेको शिवालय र चौघरा धर्मशाला मै बसेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
मन्दिर, धर्मशालाको जिर्णोद्धार र सञ्चालन
विसं. २०३५ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट भारतको औपचारिक भ्रमणमा वाराणसी सवारी हुँदा यस नेपाली मन्दिरमा पूजाअर्चना गरी मन्दिर र धर्मशालाको निरीक्षणपश्चात् नेपाल सरकारको २०३५ जेठ ६ को निर्णय अनुसार पुरातत्व विभागले मन्दिर र धर्मशालाको जिर्णोद्धार गर्ने जिम्मेवारी पाएको हो । पुराततव विभागको रेखदेखमा पहिलो पटक आव २०३६/३७ देखि आव २०४०/४१ सम्म जिर्णोद्धार कार्य हुँदा मन्दिरको छानामा झिँगटी हटाई पित्तलपाता जडान गरियो भने धर्मशालाका लागि केही नयाँ कलात्मक झ्याल, ढोका तयार गरेर मात्र राखियो ।
मन्दिरको छानाबाहेक अन्य काम हुन सकेन भने धर्मशालाको काम नै सुरुवात हुन सकेन । काठमाडौँको पाटन औद्योगिक क्षेत्रमा काष्ठकला कृतिहरू बनाइएकोले पुरानो जस्तो थिएन र मन्दिरको टुडाल थोरै छोटो भएकोले छानाको चौडाइ कम हुन गएको छ । स्थानीय पत्रपत्रिकामा यस मन्दिर र धर्मशालाको बिग्रँदो अवस्थाबारे समाचार, लेख छापिएपछि ३० नोभेम्बर १९९२ मा तत्कालीन काशीनरेश डा. विभूतिनारायण सिंहले राजा वीरेन्द्रलाई सम्बोधन गरी पत्रमार्फत ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विसं. २०४९ चैत (सन् १९९३) मा भएको भारतको औपचारिक भ्रमणको क्रममा वाराणसी पुग्दा यस मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो । मन्दिर, धर्मशालाको निरीक्षणपश्चात् यथाशीघ्र मन्दिर, धर्मशालाको जीर्णोद्धार गरेर आत्मनिर्भर सम्पदाको रूपमा दिनु भए अनुसार पुरातत्व विभागद्वारा सम्पूर्ण काम सम्पन्न भएको थियो । जिर्णोद्धारमा तत्कालीन मन्त्री महन्थ ठाकुरको सहयोग स्मरणीय छ । निर्माण स्थलमा नै काष्ठकलाकृति कुँद्ने काम भएकोले उत्कृष्ट कलाकृति प्रदर्शन गर्न सम्भव भयो । यसकार्यमा भक्तपुर र बुङ्गमतीका दक्ष बुट्टेकर्मी थिए । यसैबिच मन्दिर र धर्मशालाको सञ्चालन, संरक्षण र आत्मनिर्भर सम्पदाको रूपमा विकास गर्न नेपाल सरकारको २०५६ जेठ १० गतेको निर्णय अनुसार भारतको लागि महामहीम नेपाली राजदूतलाई संरक्षक र अध्यक्षको नियुक्ति संस्कृति मन्त्रालयले गर्ने गरी स्वामी ओंकारानन्द गिरीको अध्यक्षतामा सञ्चालक समिति गठनसमेत गरी साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति, ललिताघाट, वाराणसीको कार्यविधि नियम, २०५६ स्वीकृत गरियो । स्थानीय सरकारको नियम अनुसार पनि यो संस्था पञ्जीकृत छ । सुरक्षागार्डका लागि नेपाल सरकारबाट प्राप्त अनुदान र सञ्चालक समितिको सञ्चित रकमबाट अक्षयकोषको व्यवस्था गरिएको छ । पूजाआजा, पुजारीको लागि गुठी संस्थानले आव २०५६/५७ देखि नै रकम पठाइरहेको छ । शेष जीवन काशीमै बिताउने नेपाली वृद्धवृद्धालाई गुठी संस्थानले वितरण गर्ने वर्षासनवापतको रकम पनि यसै सञ्चालक समितिलाई पठाइएको छ । असहाय वृद्धवृद्धाहरूका लागि काशी वर्षासन गुठीको नाममा सिरहा जिल्लामा ५२ विघा ७ कट्ठा दुई धुर र ललितपुर जिल्लामा ५३ रोपनी पाँच आना जग्गा गुठी व्यवस्था गरिएको लगतमा उल्लेख छ । उक्त लगतमा यस मन्दिरमा नेपाली पुजारीबाट रेखदेख, पूजाआजाको व्यवस्था गुठी संस्थानबाट सन् १९६४ सम्म हुन्थ्यो भने सन् १९६३ मा नेपालीको संस्था विद्या धर्म प्रचारिणी समितिमार्फत मन्दिरको छाना मर्मतसमेत भएको उल्लेख छ । के कति कारणले नेपाली पुजारी त्यहाँबाट विस्थापित भए त्यसको कतै उल्लेख छैन र गुठी संस्थानले किन नेपाली पुजारी राख्ने व्यवस्था गरेन भन्नेबारे अनुसन्धानको विषय हुन सक्छ ।
नेपाली पुजारी विस्थापित भएपछि मोतीलाल शुक्ल नामका स्थानीय पण्डाले पूजाआजा, रेखदेख गर्न थालेका थिए । गुठी संस्थानबाट पाउने खर्च उनले पाएनन् । वर्षासनवापत बाँड्ने रकम विद्याधर्म प्रचारिणी समितिमार्फत गुठी संस्थानले निरन्तरता दिइरह्यो । ती मोतीलाल शुक्लको छ छोरा र एक छोरीको ठुलो परिवारलाई नै धर्मशालामा बस्न नपुग्ने भएपछि नेपाली तीर्थयात्रीले बस्ने ठाउँ पाउन कठिन हुँदै गयो । वाराणसीको प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक यस नेपाली मन्दिर हेर्न आउने विदेशी पर्यटकहरूबाट लिने रकम नै प्रमुख आयको स्रोत बनेको थियो । यसबिच मन्दिरबाट देवीदेवताका विग्रहहरू र तोरण (काष्ठकलाकृतिहरू), गरगहना आदि अन्य सामग्रीहरू हराएका थिए । अवैध निर्माण र अतिक्रमण पनि यिनै पण्डाहरूलाई प्रलोभन देखाएर गरिएको थियो ।
आत्मनिर्भर सम्पदा बनाउन चुनौती
आत्मनिर्भर सम्पदा भनेको त्यही सम्पदाको आयस्रोतबाट उसको संरक्षण र विकास गर्नु हो । जिर्णोद्धार गर्दा आत्मनिर्भरलाई मूलमन्त्र मानेका थियौँ र त्यसै हिसाबले जीर्णोद्धार कार्य सम्पन्न पनि भयो । चौघराको दक्षिणभाग खाली नै थियो । वास्तुशास्त्रको हिसाबले दक्षिण भाग अग्लो हुनुपर्ने भएर नयाँ निर्माण नै गरियो । अन्य भाग पुनः निर्माण जस्तै भयो । स्नानकोठा र शौचालयको यथेष्ट निर्माण गरियो । मर्मत सम्भारका लागि गरिएको लागत अनुमानकै परिधिभित्र यी सम्पूर्ण काम सम्पन्न भयो । पहिलो पटक २०५१ वैशाख महिनामा हामी बनारस पुगेका थियौँ । बिहान गङ्गा स्नान गरेर काशी विश्वनाथको दर्शन गर्यौँ । त्यसपछि ललिताघाटमा गङ्गाजल लिएर नेपाली मन्दिर दर्शन गर्न जाँदा मन्दिरको ढोका बन्द थियो । धर्मशालामा बस्ने शुक्ल परिवार (पण्डा) लाई हाम्रो परिचय दिएर मन्दिर खोल्न लगायौँ । भित्र बाख्रा बाँधेको देख्यौँ । मन्दिर बाख्राको गोठ जस्तो थियो । कुचोले सबै सफा गरियो । माकुरोको जालो सफा गर्दा करेन्ट लागेको स्मरणीय घटना जस्तो भएको छ । गङ्गाजल ल्याएर मन्दिर सफाइ गरियो र फूल, बेलपत्र आदि चढाएर त्यो दिन सङ्क्षिप्त पूजापाठ गरियो । मोतीलाल शुक्लको कान्छो छोरा घनश्याम शुक्लालाई पुजारीको अधिकार दिएको आपसी सहमति दाजुभाइले गरेका रहेछन् । तिनैलाई भनेर त्यहीँ दिन कोठा खोज्न लगायौँ । नजिकै ब्रह्मनालमा उहाँको आफन्त अशोक पाण्डेको घरमा डेरा बस्यौँ ।
यहाँ भक्तपुरका काष्ठकला कुँद्ने दक्ष बुट्टेकर्मीहरूको टोली सँगै बस्यौँ । अशोक पाण्डेको परिवारसित राम्रो सम्बन्ध भयो । शुक्ल परिवारको स्थिति र नेपाली मन्दिर, धर्मशालामा हुने गतिविधिबारे सम्पूर्ण जानकारी अशोक पाण्डे र उहाँको परिवारको सदस्यहरूबाट प्राप्त भयो । धर्मशालाको पश्चिम लङ्कबाट जिर्णोद्धार कार्यको सुरुवात भएको थियो । पहिलो पटक १० लाख नेपाली रुपियाँ बजेट व्यवस्था भएको थियो । वैशाख महिना स्थानीय सिकर्मी र बुट्टेकर्मी खोज्नमै समय गएको थियो । स्थानीयबाट सम्भव नभएपछि शिव शिल्पकारको नेतृत्वमा ५/६ जनाको टोलीको सहयोग र परिश्रमले साउन महिनामा पश्चिम लङ्कको काम पूरा भयो । असार महिनासम्म नेपाली मन्दिर, धर्मशालामा नेपाली भाषीको उपस्थिति शून्य देखिएको थियो । मन्दिर दर्शन गर्न आउने नेपालीलाई पण्डाले गाली गर्ने, दुव्र्यवहार गर्ने भएकोले नेपाली त्यहाँ आउन डराउँथे । स्थानीय भक्तजनलाई पनि पशुपतिनाथको दर्शन गर्न सहज थिएन । विदेशीहरू आएपछि काठमाडौँको पशुपतिनाथ जस्तै हो भनेर पहिले नै रुपियाँ लिएर भित्र देखाउने । अन्यथा दुव्र्यवहार हुने गरेको थियो । नेपाली मन्दिर आउने बाटो पनि सहज थिएन । राजराजेश्वरी मन्दिरको लामो गुफामा भैँसी बाँध्ने गरेकोले बत्ती गएको समयमा अँध्यारो हुन्थ्यो । त्यसै कारण उत्तरप्रदेश पर्यटनले आफ्नो पर्यटक गाइडबुकबाट नेपाली मन्दिरको नाम हटाएको थियो । मठ, मन्दिर, धर्मशालाको आय स्रोत भनेको दर्शनार्थी, तीर्थयात्री, विदेशी पर्यटक र दाताहरू नै हुन् । यसका लागि नेपालीको आवागमन बढाउनु आवश्यक थियो । जीर्णोद्धार सम्पन्न हुनुपूर्व मन्दिर, धर्मशाला सञ्चालनको जिम्मा लिने योग्य व्यक्तिहरू तयार नभए हस्तान्तरण गर्न पनि कठिनाइ हुने निश्चित थियो । यसबारे सम्बन्धित निकायहरूबाट कुनै योजना वा निर्देशन पनि पाइएको थिएन । यस्तो अवस्थामा पुनः तीनै पण्डाहरूलाई जिम्मा लगाउनुको विकल्प थिएन । यो सम्पूर्ण नेपालीका लागि लज्जा र दुर्भाग्यपूर्ण अवस्थाको कल्पना पनि गर्न सकिँदैन । नेपालीको गतिविधि बढाउन मन्दिर परिसरमा हरेक सोमबार सामूहिक भेटघाटको वातावरण बनाउने योजना बनाइयो । त्यसका लागि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको छात्र सङ्गठनका महामन्त्री विष्णु दाहालसँग परामर्श गरियो । उहाँको नेतृत्वमा विसं. २०५१ साउनको पहिलो सोमबार सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका १४/१५ जना छात्रले जलाभिषेक गरे । यो कार्यक्रम २/३ महिना चल्यो । हामी तीन महिना बस्दा फेरि नेपाली मन्दिर परिसरमा कोही आएका देखिएनन् । यसले हाम्रो उत्साहमा पनि कमी आयो तर विकल्प थिएन । आव ०५३/५४ मा पुनः गएपछि धर्मशालामा नेपालीको भेला गराएर प्राडा गोपालप्रसाद अधिकारीको अध्यक्षतामा समिति बनाएर विद्यार्थी नेता राजाराम पोखरेलको संयोजकत्वमा साप्ताहिक रुद्राभिषेक समिति बनाइयो । उक्त समितिले २०५४ जेठ १८ गते सोमबार साँझ ४ बजे साधुसन्त, प्राध्यापक, छात्र, व्यापारीको ठुलो भेला गराएर रुद्राभिषेक गर्यो । यो कार्यक्रम अद्यावधिक आयोजन भइरहेको छ । एक प्रकारले अभियान अथवा आन्दोलनको रूपमा चलिरहेको छ । यस कार्यक्रममा नेपाल, भारत, भुटानका नेपाली भाषीहरू संलग्न भएकोले मन्दिर, धर्मशालाको प्रचारप्रसार व्यापक भयो । गोर्खा रेजिमेन्ट जवानहरू पनि बिदाको दिन २०/२५ जनाको समूहमा दर्शन गर्न आउन थाले । यसले पण्डाको मनोबल घटाउने काम सजिलै हुन गयो । प्राडा अधिकारीको अध्यक्षताको समितिले साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति, २०५६ को कार्यविधि नियम स्वीकृत गरी स्वामी ओंकारानन्द गिरिजी महाराजलाई अध्यक्ष नियुक्त गर्यो । स्वामीजीको कुशल नेतृत्वमा मन्दिर, धर्मशालाको संरक्षण, संवर्धन भइरहेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई मन्त्रीपरिषद्को अन्तिम बैठकले ती पण्डाहरूलाई हटाउन भारु दुई लाख संरक्षण समितिलाई अनुदान दिने निर्णय ग¥यो । स्थानीय जिल्ला अधिकारी, दूतावासको प्रतिनिधि, गुठी संस्थानको प्रशासकको उपस्थितिमा पण्डालाई हटाउने काम भयो । ललितागौरीको पाउ, रणमुक्तेश्वर मन्दिर कब्जा गरेर बसेका स्वामी गजानन्द सरस्वती उर्फ गुलाब यादवले आफ्नो स्वामित्व हुने गरी बनाएको कागजलाई अदालतले अवैध प्रमाणित गरेको छ । यी दुई उपलब्धि स्वामीजीको कुशल नेतृत्वबाट मात्र सम्भव भएको हो ।
पशुपति वृद्धाश्रम स्थापना
धर्मशालाको पश्चिम उत्तर कुनामा डा एसबी शुक्ला (सेवा निवृत्त प्राध्यापक) को तीन तल्लाको पुरानो घर करिब १० वर्षदेखि खाली थियो । कब्जा गर्ने डरले भाडामा पनि लगाएका थिएनन । गङ्गाजीको किनारमा २०० मिटरसम्म सम्पदा क्षेत्रमा नयाँ निर्माण गर्न नपाइने नियमले भत्केर धर्मशालालाई क्षति पु¥याउने धेरै सम्भावना थियो । मन्दिर, धर्मशाला सञ्चालनमा कठिनाइ भइरहने सम्भावना देखेर त्यो भवन खरिद गरेर वृद्धाश्रम सञ्चालन गर्ने योजना बनायौँ । डा. शुक्लाको भवन खरिद र ३० जना वृद्धामाताजीका लागि कोठा, स्नानघर, शौचालय, भजन कीर्तन गर्ने हल, माताजीहरूलाई भेट्न आउने पाहुनाका लागि कोठा आदिका लागि समेत कुल लागत अनुमान भारु १४ लाख भयो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बलबहादुर केसीले कार्यक्रम स्वीकृत गर्नुभयो र उहाँबाटै २०५९ असार ६ गते पशुपति वृद्धाश्रमको उद्घाटन भयो । सोही अवसरमा नेपाल पर्यटन बोर्डले मन्दिर परिसरमा निर्माण गरेको पर्यटक सूचना केन्द्रको समेत उद्घाटन भएको थियो । वृद्धाश्रम सञ्चालनका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट अनुदान रकम सङ्घीय गणतन्त्र स्थापना हुनु अघिसम्म पठाइएको थियो ।
काशी विश्वनाथ कोरिडोर
स्थानीयवासीबाट हुने डर, धम्की, झै झगडा, अतिक्रमण र कब्जाको समस्या रहेन । काशी विश्वनाथ दर्शन गर्न आउने करोडौँ दर्शनार्थीको पहिलो दृष्टि नेपाली मन्दिरमा पर्ने भयो तर पुरानो बाटो कोरिडोरभित्र परेकोले नाकाबन्दी जस्तो भएको छ । नेपाली मन्दिर आउन कोरिडोर अनुमति आवश्यक भयो । पचास हजार वर्गमिटर क्षेत्रका घरहरू अधिग्रहण गरेर भत्काउँदा वृद्धाश्रम भवन क्षति हुँदा माताजीहरूलाई धर्मशालामा सार्नु पर्यो । कोरिडोरको पदाधिकारीहरूको मनसाय नेपाली मन्दिर, धर्मशाला आफ्नो अधीनमा राख्ने र जीर्ण वृद्धाश्रम भवन भत्काउने थियो । सुखद संयोग भनौँ राजदूत दीपककुमार उपाध्यायको नेतृत्वमा स्वामीजी, पुरातत्व विभागको महानिर्देशक भेषनारायण दाहाल र म उत्तरप्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्यनाथसित भेटेर मन्दिर परिसरमा भएको अतिक्रमण हटाउन सहयोग गर्न अनुरोध गरेका थियौँ । सकारात्मक आश्वासन पायौँ । यस अवसरलाई सदुपयोग गरौँ भनेर संरक्षण समितिले नेपाली शैली झल्किने आधुनिक सुविधाहरू भएको वृद्धाश्रम निर्माण गर्नुपर्ने निर्णय ग र्यो । सहमति र डिजाइन, इस्टिमेटको लागि पुरातत्व विभागलाई अनुरोध गरियो । सोही अनुसार नेपाल पर्यटन बोर्डले आव २०७७/७८ मै नेरु डेढ करोड पुरातत्व विभागमार्फत दिल्लीस्थित नेपाली राजदूतावासलाई पठायो । कूटनीतिक, प्रशासनिक प्रयासको कमीले पुनर्निर्माण कामको अनिश्चितता बढ्दै गयो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको औपचारिक भ्रमणमा काशी विश्वनाथ मन्दिर दर्शन कार्यक्रम निश्चित भएपछि नेपाली मन्दिरमा दर्शन र भूमिपूजन कार्यक्रम समावेश गर्न संरक्षण समितिले दूतावासमा अनुरोध गर्योे । सोही अनुसार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समुपस्थितिमा प्रधानमन्त्री देउवाद्वारा २०७८ चैत २० गत्ते भूमिपूजन सम्पन्न भयो । एक वर्षपछि संरक्षण समितिको अध्यक्ष र महासचिव काठमाडौँ आएर सरकारको ध्यानाकर्षण गराएपछि छ करोड रुपियाँ दूतावासमा पठाइएको छ ।
सम्पदा संरक्षणको समस्या
वृद्धाश्रम भवनमा तीर्थयात्रीका लागि आधुनिक सुविधाजनक कोठाहरू, वाचनालय, भोजनालय, दृश्यवलोकनको व्यवस्था समावेश छ । काशी विश्वनाथ दर्शन गर्न आउने वार्षिक करोडौँको सङ्ख्यालाई आकर्षित गर्न सक्यो भने सजिलै आत्मनिर्भर सम्पदा बनाउन सकिन्छ र नेपालको धार्मिक पर्यटनमा पनि ठुलो सघाउ पुग्ने छ । यसका लागि दूतावासको सक्रिय सहयोग, सुझाव आवश्यक छ । मन्दिर, धर्मशाला, वृद्धाश्रमको सञ्चालन, व्यवस्थापन र आर्थिक कारोबारको प्रत्यक्ष निगरानी दूतावासले गर्नु पर्छ । संरक्षण समितिका पदाधिकारीहरू सानो समस्याको लागि काठमाडौँ आएर पुरातìव विभाग, संस्कृति मन्त्रालय, गुठी संस्थान धाउनुपर्ने अवस्था अन्त्य हुनु पर्छ । दूतावासको संस्कृति हेर्ने एकाइ स्थापना गरेर एक कर्मचारी नेपाली मन्दिर परिसरमा राख्नु पर्छ र नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्रलाई अझ व्यवस्थित गर्नु पर्छ ।