• ८ मंसिर २०८१, शनिबार

ऐतिहासिक धरोहर उदयपुरगढी

blog

नेपाल आफ्नो भौगोलिक अवस्थितिको कारणले पर्यटकहरूको आकर्षणको केन्द्र रहेको छ । त्यसमध्ये उदयपुर जिल्लाको उदयपुरगढी एक हो । चुरे, भाँवर, दुन र महाभारत पर्वत समेटेर बनेको जिल्ला उदयपुर ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक, प्राकृतिक र पर्यटकीय दृष्टिले महìवपूर्ण छ । उदयपुरगढी, चौदण्डीगढी, मोतीगडा, देवधार, नेपालटार, बेल्का दरबार, रङ्गमहल र अन्य विभिन्न ऐतिहासिक स्थलका साथमा मैनामैनी र रौता जस्ता धार्मिक क्षेत्र प्रशस्तै रहेका छन् । ताप्ली, सुकेपोखरी, खाडमन्दिर, उत्तरबाहिनी, गराँस, कमलामाई र त्रिवेणी यस जिल्लाका थप पर्यटकीय क्षेत्र हुन् । हाल यो गढी सदरमुकाम गाईघाटदेखि करिब ४२ किलोमिटर उत्तर–पश्चिम उदयपुरगढी गाउँपालिकामा छ । स्थानीय तहको पुनर्संरचना गर्नुपूर्व यो गढी पञ्चावती गाविसमा थियो । पञ्चावती गाविसको दक्षिणको फाँटमा नेपालटार र उत्तर पहाडमा उत्तर–दक्षिण लमतन्न परेर सुतेको उदयपुरगढी डाँडो छ । हाल आएर पञ्चावती गाविससँग तावाश्री, वर्रे, डुम्रे र भलायडाँडा गाविसलाई मिलाएर उदयपुरगढी गाउँपालिका बनाइएको पाइन्छ । 

ऐतिहासिक स्थल उदयपुरगढीका नामका आधारमा यस गाउँपालिकाको नामकरण भएको देखिन्छ । यसको पूर्वमा रौतामाई गापा र त्रियुगा नपा, दक्षिणमा सप्तरी र सिराहा जिल्ला, पश्चिममा कटारी नपा र उत्तरमा ताप्लि गापा पर्छ । यस क्षेत्रमा धेरै जसो पुरातात्त्विक र ऐतिहासिक स्थलहरू यसै गाउँपालिकाभित्र पर्छ । यस पालिकाको क्षेत्रफल २६९.५१ वर्ग किमी रहेको छ । विसं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसङ्ख्या २८ हजार ९२६ रहेको छ । 

उदयपुर नाम उदयचन्द्र नामको एक जना ऐतिहासिक राजाको नामबाट जुराइएको स्थानीय जानकार बताउँछन् । सो अनुसार, उदयपुरगढी भेगमा उदयचन्द्रका बारेमा अनेक प्रकारका किंवदन्ती छन् । सोमध्ये राजा उदयचन्द्र आफ्ना जनतालाई ज्यादै धेरै माया, ममता गर्थे भने गढी भेकमा जनता पनि राजालाई त्यसै अनुरूप श्रद्धा र भक्ति गर्दथे । किंवदन्ती अनुसार ती राजा मरे पनि जनताको प्रेमका कारण पितृलोक नगएर उदयपुरगढीमा नै प्रेत भएर बसेछन् । राजा दसैँको नौरथाको अवसरमा प्रत्येक वर्ष रातको समयमा सेतो घोडामा चेढेर माइथान, टुँडिखेल, भुर्तेल गाउँ र बैजनाथ गाउँसम्म पुगेर गढीमा फर्किने रहेछन् । राजाले जनताको सुख दुःख हेर्न र सहयोग गर्न घुमफिर गर्दा रहेछन् । बाटो छेउ घर हुने मान्छेले घोडाको टाप बजेर सैनिक हिँडेको पनि थाहा पाउँदा रहेछन् । 

त्यस्तै, किंवदन्ती, केउरेनी भेकका मानिसहरूमा प्रचलित एक जनविश्वास अनुसार प्रत्येक वैशाख पूर्णिमाका दिन उदयचन्द्र आफ्ना सेनाका साथमा केउरेनी भेगमा जान्थे रे । पछि तिनको मृत्यु भए पनि तिनी राजा वैशाख पूर्णिमाको मध्य रातमा तेतातिर यात्रा गर्दथे रे । राजा चढेको घोडा परैबाट देखिने गर्दथ्यो । त्यसै गरी किंवदन्ती अनुसार नै राजाको केउकेउ नामक एक जना प्रिय रानी थिईन् । जसको नाममा तिनले केउरेनी भेगमा एउटा दरबार पनि बनाइदिएका रहेछन् । प्रिय रानीको दरबार सधैँ पुग्ने उदयचन्द्र तिनको मृत्यु भएपछि पनि मध्य रातमा त्यस ठाउँमा पुग्ने विश्वास स्थानीय बासिन्दाको छ । यसै आधारमा त्यस ठाउँलाई केउकेउ रानीको दरबार भन्दै अन्त्यमा केउरेनी भन्न लागेको भन्ने जनविश्वास छ । त्यसैले हाल उदयपुरगढीमा उदयसेन राजाको सेतो घोडामाथि चढेको शालिक तथा सुन्दर कालीका मन्दिर स्थापना गरिएको छ ।

उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोलपार्क, भ्यूटावर, टुँडिखेल, ताप्लिपोखरी, जोगीधारा, अँधेरी झरना, भालुदह जस्ता पर्यटकीय स्थल तथा पञ्चावती माईको मन्दिर, हाँडेटार महादेव, केउरेनी महादेव, काब्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव स्थान आदि धार्मिक स्थल अवस्थित छन् । यहाँ मनाउने मुख्य चाडपर्वमा दसैँ, तिहार, हरितालिका तिज, रामनवमी, शिवरात्रि, फागुपूर्णिमा, वुद्ध पूर्णिमा, नागपञ्चमी, माघेसङ्क्रान्ति, कृष्णाष्टमी, चैते दसैँ, हरिसयनी एकादशी, हरिबोधिनी एकादशी, कुशेऔँसी आदि छन् । यस गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत कृषि, पशुपालन, पर्यटन तथा व्यापार हो । नेपालको विकासको धरोहर राष्ट्रिय गौरवको आयोजना यसै गाउँपालिकासँग जोडिने मदन भण्डारी लोकमार्ग फास्टट्रयाक धरान, चतरा, हेटौँडा सडकमार्गको विकासले गति लिने विश्वास छ । प्रशस्त खोलानाला, उर्वर खेतीयोग्य जमिन, हरियाली वनजङ्गल, वनस्पति, जडीबुटीहरू यस गाउँपालिकाको अर्थाेपार्जनका प्रमुख आधार हुन् । 

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देश उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ । 

आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ । 

देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । 

उदयपुर जिल्लामा रहेको उदयपुरगढी ऐतिहासिक पर्यटन केन्द्र हो तर सो क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवर्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिरहेको छैन । पर्यटन विकासका प्रचुर सम्भावना बोकेको भनाइको आधारमा उदयपुरगढी क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसात् गर्नुपर्ने हो निक्र्योल हुनुपर्ने देखिन्छ । यसका लागि योजनाबद्ध दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने गुन्जाइस रहेकोले त्यस्तो दीर्घकालीन योजना पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावको आधारमा कार्यान्वयन गर्नु आवश्यक हुन सक्छ । 

कोशी प्रदेशमा अवस्थित उदयपुरगढी गाउँपालिका भूबनोट प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय छ । यो क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका सङ्गम स्थल हो । उदयपुरगढी नेपालको ऐतिहासिक थलोको रूपमा रहेको पाइन्छ । यहाँको परम्परागत जीवनशैली र सभ्यताको प्रतिनिधित्व गर्दै आएको सांस्कृतिक र ऐतिहासिक धरोहर उदयपुरगढी हो । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण उदयपुरगढीले आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्ने छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना अनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धन गर्नु अहिलेको माग हो ।

यस गाउँपालिकाका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । पालिकाका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थल यत्रतत्र छरिएर रहेका छन् र त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था छैन । यो व्यवस्था कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, उदयपुरगढी क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । 

यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तर पालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुन सक्छ । उदयपुरगढी गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य सङ्घ र निजी क्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । त्यस्तै सो पालिकाको विकासका लागि खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, टे«किङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होटेल तथा होमस्टेको स्थापना, पुरातात्त्विक अन्वेषण र संरक्षण, स्थानीय गढी सङ्ग्रहालयको आवश्यक व्यवस्था, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना, जनचेतना अभिवृद्धि गर्दै नमुना पर्यटन गाउँपालिका निर्माण आजको आवश्यकता हो । 

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस उदयपुरगढी गाउँपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि गरेको प्रयासका बाबजुद पनि पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रिया अनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । 

  

Author

डा. माधव अधिकारी