• १३ साउन २०८१, आइतबार

बागमतीमा पाँच मत मात्रै खस्न बाँकी

blog

भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा मतदान गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्विरः राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, माघ ११ गते । राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी छ । अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लष्टर) बाट चार जना राष्ट्रिय सभा सदस्यका लागि आज बिहीबार हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलका मतदान चलिरहेको हो । 

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृतको कार्यालयले मतदान विहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजेसम्म चल्ने जानकारी दिएको छ । विद्यालय परिसरमा दुई वटा मतदान केन्द्रमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि यस प्रदेशमा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस प्रदेशमा नेपाली कांग्रेसबाट अन्यतर्फ जीतजङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीको उम्मेदवार हुनुहुन्छ ।


सत्ता गठबन्धनकै नेकपा (माओवादी केन्द्र) ले अपाङ्गताबाट श्रीकृष्णप्रसाद अधिकारीलाई र नेकपा एकीकृत समाजवादीले दलिततर्फबाट घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । 

यसैगरी नेकपा (एमाले) बाट महिलातर्फ रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसङ्ख्यक–अपाङ्गता भएकाबाट विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्माको उम्मेदवारी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी, अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजङ्ग गुरुङ उम्मेदवार हुनुहुन्छ । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालको उम्मेदवारी छ ।

यसैबिच राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने मतदानमा हाम्रो नेपाली पार्टी सहभागी नबन्ने भएको छ । बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभाका सदस्य छन् । मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि प्रदेश सभाका सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ३४७ जना मतदाता छन् ।


प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १९ कायम गरिएको छ । प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको गरी कुल मतभार १० हजार ३३३ मतभार छ । सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार आफ्नो क्लष्टरबाट निर्वाचित हुनेछन् ।