• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा निर्वाचन आज

blog

काठमाडौँ, माघ ११ गते । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् । 

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभा सदस्य निर्वाचित गर्ने छ । प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन् । पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ । 

मतगणना आज

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने जानकारी दिनुभयो । उहाँले बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने गरी गणना गर्ने तयारी गरिएको बताउनुभयो । “विवाद भएन भने राजनीतिक दल तथा उम्मेदवारको प्रतिनिधिको सहमतिमा मतदान सकेपछिको प्रक्रिया पूरा गरेर गणना सुरु हुने छ,” उहाँले भन्नुभयो ।

प्रदेशमा सम्बन्धित समूहतर्फ सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार निर्वाचित हुने छ । “उदाहरणका लागि कोशी प्रदेशमा कुल मतभार दस हजार १३५ हुँदा कुनै पनि समूहको गणना गर्दा निर्वाचित हुने उम्मेदवारले ५० प्रतिशत ल्याउनुपरेन । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुने छन्,” प्रवक्ता पौडेलले भन्नुभयो ।