• १६ भदौ २०८१, आइतबार

सर्लाहीमा बन्यो २१० जना क्षमताको कारागार

blog

सर्लाही सदरमुकाम मलङ्गवामा निर्माण गरिएको कारागार भवन । तस्बिर: जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ ८ गते । सर्लाहीमा कारागार अभावमा कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । 

आठ कठ्ठा १९.५ धुरमा निर्माण भएको कारागार १६० जना पुरुष र ५० जना महिलासहित २१० जना कैदीबन्दी राख्ने क्षमताको कारागार निर्माण भएको हो । सदरमुकाम मलङ्गवामा निर्माण गरिएको कारागार भवन सञ्चालनमा आएसँगै यहाँका कैदी बन्दीलाई बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको हो । चार करोड ४५ लाख २७ हजार ६८७ रुपियाँ ६५ पैसा लागतमा निर्माण भएको कारागार भवनको आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रूपमा उद्घाटन गर्नुभएसँगै कारागार भवन सञ्चालनमा आएको हो । 

यसअघि सर्लाहीमा कारागार नहुँदा अदालतबाट पूर्पक्ष आदेश भएका तथा सजाय सुनाइएका अभियुक्तलाई महोत्तरीको जलेश्वर, रौतहटको गौर, सिन्धुली वा सुनसरीको झुम्का कारागार चलान गर्नुपर्ने बाध्यता थियो । अन्यत्र कैदी बन्दी लैजानुपर्दा प्रहरीलाई हैरानीसँगै यातायात खर्च बढ्ने, कैदी बन्दी बाटोबाटै नै भाग्ने जोखिम हुने र परिवारलाई भेट्न जानसमेत समस्या थियो । 

कारागार सञ्चालनमा आएसँगै शनिवार मात्रै गौर कारागारबाट ३० जना कैदी बन्दी स्थानान्तरण गरेर यहाँ ल्याइएको छ । अब क्रमैसँग प्रक्रिया पूरा गरेर अन्य जिल्लामा पठाइएका यहाँका कैदी बन्दीलाई यहीँ ल्याइने मलङ्गवा कारागारका निमित्त जेलर मनोज मिश्रले जानकारी दिनुभयो । 

नवनिर्मित कारागारमा महिला र पुरुषको बेग्लाबेग्लै ब्लक, छुट्टाछुट्टै भेटघाट कक्ष, सुरक्षाकर्मीका लागि ब्यारेक ब्लक, गार्ड हाउस, कैदीका लागि क्यान्टिन ब्लक, पसल, शौचालय, सेक्युरिटी वाल, कम्पाउन्ड वालसहितका संरचना बनाइएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरले जनाएको छ । कार्यालयका प्रमुख प्रदीप खनालले चरणबद्ध रूपमा काम गर्नुपरेकाले कारागार भवन निर्माण हुन समय लागेको बताउनुभयो । 

पहिलेको कारागार अत्यन्त जीर्ण बनेपछि ११ वर्ष अघिदेखि सर्लाहीका कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउन थालिएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जिल्लामै कारागार बनेसँगै प्रहरी र कैदीका परिवारको खर्च कम हुनुका साथै सहजता पनि भएको बताउनुभयो ।