• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित

blog

एपिएफका कप्तान रोहित पौडेल । तस्बिर : क्यान

काठमाडौँ, माघ १ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । एपिएफको जितमा कप्तान रोहित पौडेलले सानदार प्रदर्शन गर्नुभयो । 

जितको लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १९.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । एपिएफको जितमा रोहितले ८० रन बनाउनुभयो । उहाँले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर प्रज्वल शाही २२ र सुमित महर्जनले २० रन जोड्नुभयो । बलिङमा कोशीका फिर्दोस अन्सारी, कमल खत्री, समीर कार्की र सोनु मण्डलले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कोशी ४४.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । कोशीको लागि फिर्दोस अन्सारीले ५५ रन बनाउनुभयो । सोनु अन्सारी २०, अङ्कित सुवेदी १३, सोनु मण्डलले ११ र आशिष् भट्टराई १० रन बनाउनुभयो । 

बलिङमा एपिएफका रोहित पौडेल र भिनाश बोहराले तीन तीन विकेट लिनुभयो । अमर सिंह राउटेलाले दुई तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट झार्नुभयो । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो ।