• १३ साउन २०८१, आइतबार

माघेसङ्क्रन्ति पर्व एक, चलन अनेक

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, माघ १ गते । मधेश प्रदेशका जिल्लामा माघेसङ्क्रन्ति अर्थात् तिलासङ्क्रन्तिको रौनक छाएको छ । माघको पहिलो दिन अर्थात् १ गतेलाई माघेसङ्क्रन्ति, मकरसङ्क्रन्ति, तिलासङ्क्रन्तिका रूपमा सबै जातजातिले फरक तरिकाले मनाउने गरेका छन् । तराईका मिथिलावासी, थारू, बातरसहित अन्य समुदायमा सङ्क्रन्ति पर्व उत्सवका रूपमा मनाइने गरिएको सचितानन्द माझीले बताउनुभयो । यसै दिनदेखि रात छोटो र दिन लामो हुने गर्छ । 

आजीवन सेवाको प्रतिबद्धता 

यस दिन परिवारका ठुलाबडा र आमाबुवाले आफ्ना सन्तानलाई सक्खर (स्थानीय भाषामा गुर) र तिल मिसाएर कम्तीमा तीन पटक खुवाउनुपर्ने चलन छ । यस क्रममा आमाबुवाले सन्तानलाई सोध्छन्, “के खाइरहेका छौ ?” सन्तानले भन्छन्, “तिल र गुर ।” अनि फेरि सोध्छन्, “के गर्छौ ?” सन्तान भन्छन्, “तिले तिले बहने अर्थात् आजीवन सेवा गर्छु ।” यसको तात्पर्य सन्तानबाट आमाबुवाले बुढेसकालमा सहारा र सेवाको वचनबद्धता व्यक्त गराउने चलन रहेको ८५ वर्षीय सिताबीप्रसाद साहले बताउनुभयो । 

यस दिन विशेष गरी खिचडी, तिल, चिउरा तथा भुजा (मुरही) का लड्डुलगायतका परिकार तयार पारी पूजापाठ गरेर सर्वप्रथम घरका देवदेवीलाई चढाएर खाने र खुवाउने संस्कार रहेको उहाँले बताउनुभयो । भक्तजनले यस दिन भगवतीका मन्दिरका प्रवेशद्वार तथा आआफ्ना घरआँगनमा कमलको फूलजस्तै चित्र बनाई शृङ्गार गर्छन् । कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सक्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ । धार्मिक मान्यता अनुसार भगवान् र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवान्लाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ । 

खिचडी पर्व र मोक्ष प्राप्ति

यस पर्वमा गुर खिचडी खान अनिवार्य भएकाले खिचडी पर्वले पनि यसलाई जानिन्छ । तिल तथा सक्खरबाट बनाइएको लड्डु ब्राह्मणलाई दान गरिन्छ । यस पर्वमा तिल र चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिल वा च्युरा वर्ष पनि भन्ने गरिन्छ । आफ्ना लागि वा पितृका लागि सम्पन्न व्यक्तिले जुत्ता, छाता, रुमाल र कम्बल पनि दान गर्छन् । मकरसङ्क्रन्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ । तिल र घ्यु खाने अनि शरीरमा तेल घस्नाले शरीरबाट चिसो हट्ने विश्वास छ । 

जडाउर प्रथा

मैथिली कन्याहरू आजैका दिनदेखि सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने न्यानो लुगा पठाइदिने परम्परा यस पर्वमा रहेको छ । यस प्रथालाई मैथिलीमा ‘जडाउर’ भनिन्छ । धेरै जसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरु गर्छन् ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रन्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने विश्वास छ । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पापबाट मुक्ति पाइने विश्वास रहेको रामकुमार शास्त्रीले बताउनुभयो ।

थारू र बातरमा माघी

थारू समुदायले तीन दिनसम्म मनाउने सङ्क्रन्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन प्रायः घर घरमा सुँगुर काट्ने चलन छ । यसलाई जिता मरना दिन भनिन्छ । पुस मसान्तमा घर घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड (रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । यस्तो चलन पूर्वी तराईको थारू समुदायमा भन्दा पश्चिमी थारूमा बढी मात्रामा रहेको पाइन्छ । कतिपय स्थानका थारू र बातर समुदायले माघ पर्व एक हप्तासम्म मनाउने गर्छन् । माघ १ लाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिँदै आएको छ ।