• ८ मंसिर २०८१, शनिबार

बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर लामिछाने उच्च अदालत जाने

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, पुस २५ गते । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने हुनुभएको छ ।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो ।

बुधबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गर्नुभयो ।


अधिवक्ता घिमिरेले सोसम्बन्धी जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको स्पष्ट पार्नुभयो । सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरूको भनाइ रहेको उहाँले बताउनुभयो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।