• १२ साउन २०८१, शनिबार

घोषणामै सीमित ‘ढाका राजधानी’

blog

रेखीराम राना

तानसेन, पुस १९ गते । तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यक्रम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । 

ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो । 

उहाँले भन्नुभयो, “ढाकाको राजधानी घोषणा भयो तर घोषणा अनुसार सरकारको सहयोग भएको पाइएन ।” सरकारी सहयोग नहुँदा ढाका उत्पादनमा लागेका साना उद्योगी निराश बनेका छन् । ढाकाबाट बनेका सामग्रीको बजार प्रवर्धनमा समेत सरकारले सहयोग नगरेको उनीहरूले बताएका छन् । पाल्पा ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले सरकारी कार्यालय र कर्मचारीलाई ढाकाको प्रयोग गर्नमा प्रोत्साहन तथा अन्य सरकारी निकायलाई ढाकाबाट उत्पादित वस्तुको प्रयोगमा प्रोत्साहन गर्न नसकेको बताउनुभयो । सरकारी निकायले ढाकाको सामग्री प्रयोगमा नीतिगत व्यवस्था गर्न सके स्थानीय उत्पादनले बजार पाउने अपेक्षा व्यवसायीको छ । तानसेन नगरपालिकाले ढाकाबाट उत्पादित वस्तुको उत्पादनमा थोरै भए पनि सहयोग गरेको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले ढाकाका सामग्री उत्पादन गर्ने मानिसलाई तालिमका लागि सहयोग गरिएको बताउनुभयो ।  

पाल्पामा हाल ढाका उत्पादन गर्ने १३ वटा घरेलु तथा साना रहेका छन् । ती स्थानमा ढाका बुन्ने काममा पाँच सय बढी कामदार व्रिmयाशील छन् । ढाकाबाट विभिन्न सामग्री बनाउन थप दुई सय मानिस व्यस्त रहेको जिल्ला ढाका सङ्घले जनाएको छ । सरकारले बजारीकरणलगायत प्रशिक्षक, तालिम केन्द्रको स्थापना गरेर सहयोग गर्ने हो भने एक हजार बढी कामदार पाल्पाली ढाका उत्पादनमा स्वरोजगार बन्ने सङ्घले जनाएको छ । पाल्पामा २०१५ सालदेखि ढाका उत्पादन हुँदै आएको छ । ढाकाबाट बनेका स्टकोट, पर्स, हातेपर्स, चोली, पछ्यौरी, कोट, टाई, साडी, झोला र सजावटका सामग्रीको बजारमा अत्यधिक माग छ ।