• ८ मंसिर २०८१, शनिबार

नेपाली संस्कृतिमा घण्टा

blog

नेपालमा घण्टीको धार्मिक महत्व ठुलो छ । हरेक मठ मन्दिरमा घण्टा वा घण्टी देख्न पाइन्छ । साना आकारका घण्टी र ठुलालाई घण्टा भन्ने गरिएको पाइन्छ । मन्दिरमा देवताको पूजा आराधना गर्न जाने भक्तजन त्यहाँ रहेका घण्टीहरु बजाउँछन् । भक्तजनद्वारा नै देवमन्दिरहरुमा घण्टा वा घण्टीहरु स्थापना गरिएका हुन्छन् । घण्टी नबजाई पूजाआजा पूरा हुँदैन भन्ने विश्वास छ । घरका पूजा कोठामा साना घण्टी राखिएका हुन्छन् । साँझ–बिहान पूजा गरेपछि वा साँझबत्ति बालेपछि घण्टी बजाइन्छ । पूजा कोठा छुट्टै नभएका घरमा पनि बेलाबेला देवकार्य गर्ने गरिन्छ । त्यसबेला घण्टी बजाइन्छ । स्तुपहरुमा पनि घण्टा वा घण्टीहरु राखिएका हुन्छन् । श्रद्धालुहरुद्वारा बुद्ध मूर्तिमा धूपबात्ति, पूजा गरेपछि घण्टी बजाइन्छ । चर्चहरुमा पनि घण्टा स्थापना गरिएको पाइन्छ । यसरी घण्टा मानिसको आस्था प्रकट गर्ने साधन बन्दै आएको पाइन्छ ।

घण्टाको धार्मिक महत्व विश्वभरि नै रहेको पाइन्छ । हिन्दु धर्ममा आस्थावान् मानिसका लागि जन्मदेखि मृत्युसम्म नै घण्टा एक अनिवार्य पूजा सामग्री बनेको छ । शङ्ख, घण्ट र डमरु देवकार्यका लागि अनिवार्य मानिन्छन् । घण्टको ध्वनि अर्थात् पराकम्पनद्वारा भक्तजनको पुकार देवतासम्म पुग्छ भन्ने विश्वास रहेको छ । यसको आवाजद्वारा उत्पन्न हुने तरङ्गले एकाग्रता, शरीरका चक्रलाई सक्रिय पार्ने, नकारात्मक शक्तिलाई नष्ट गर्ने, शान्तिको अनुभूति र ईश्वरसँगको निकटता बढाउनुका साथै चिन्तारहित बनाउँछ भन्ने विश्वास गरिन्छ । घण्ट–ध्वनि देवतालाई प्रसन्न बनाउने एक प्रमुख बाजाको रुपमा रहेको पाइन्छ । सनातन धर्मावलम्बीहरुले हजारौँ वर्षदेखि घण्टाको प्रयोग गर्दै आएका हुन् भन्ने भनाइ छ । बौद्ध धर्मावलम्बीहरुमा पनि उसरी नै घण्टाको प्रचलन रहेको पाइन्छ ।

मन्दिरका छानामा स–साना घण्टीहरुका पाँच–पाँच, सात–सात वा नौ–नौवटाका झुप्पा बनाई झुण्ड्याइएको पाइन्छ । यस्ता घण्टीले मन्दिरको शोभा बढाएका हुन्छन् । ती मन्दिरका गहना जस्तै देखिन्छन् । तीभन्दा पनि अझ साना घण्टीहरु पनि हुन्छन्, तिनलाई थोरै मात्र गतिशील हावाले पनि बजाउन सक्छ । यस्ता घण्टीलाई बतासे घण्टी भन्ने गरिएको पनि पाइन्छ । यस्ता बतासे घण्टी मन्दिरको भित्री छानामा लहरै झुण्ड्याइएका हुन्छन् । 

नेपाली वास्तुकला संसारमै अनुपम छ । घण्टा वा घण्टी मौलिक नेपाली वास्तुकलाद्वारा सुसज्जित ऐतिहासिक, धार्मिक स्मारक स्थलहरुका अभिन्न अङ्ग हुन् । काठमाडौँ उपत्यकाका ऐतिहासिक दरबार क्षेत्रहरु नेपाली वास्तुकलाका विश्वविख्यात केन्द्रहरु हुन् । ती स्थलहरुको दिव्यता वृद्धि गर्न त्यहाँका परिसरहरुमा स्थापित घण्टाहरुले गहना वा अलंकारको काम गरेका छन् । त्यसैगरी मन्दिर वा चैत्यहरुमा स्थापित घण्टा वा घण्टीहरु तिनका गहनाका रुपमा रहेको कुरा संस्कृतिविद् तेजरत्न ताम्राकारले बताउनुहुन्छ–“घण्टाले मन्दिरको शोभा बढाउने मात्र नभई यसले गहनाको रुपमा पनि मन्दिरलाई सुशोभित गराइरहेको हुन्छ ।”

नेपालमा प्रयोग गरिँदै आएका घण्टाहरु मुख्य चार प्रकारका रहेको कुरा संस्कृतिविद् रामशरण दर्नालले बताउनुभयो । उहाँका अनुसार पूजाआजामा प्रयोग गरिने, सहरमा राखिने राष्ट्रिय स्तरका विशाल घण्टा तथा मन्दिरका पटाङ्गिनीमा राखिने ठुला घण्टा, स–साना घण्टीका समूह (जसलाई पाँचदेखि बढीको सङ्ख्यामा अलगअलग झुण्ड्याइएको हुन्छ) र हावाको झोकाले बज्ने स–साना हलुका घण्टी ।

सुन, चाँदी, तामा, राङ, जस्ता, फलाम, सिसा, पारो मिश्रण गरी बनाइएको अष्टधातुयुक्त घण्टालाई उत्तम मानिन्छ । पूजाआजामा बजाइने घण्टीहरु विशेष कलात्मक प्रकारका हुन्छन् । तिनमा विभिन्न देवदेवीका कलात्मक आकृतिहरु कुँदिएका हुन्छन् । पूजाआजामा प्रयोग गरिने घण्टी पनि धार्मिक आस्था अनुसारका हुन्छन् । बज्रयान बौद्धमार्गीहरुले प्रयोग गर्ने घण्टीमा बज्रको आकृति पनि कुँदिएको हुन्छ । बौद्ध धर्ममा घण्टा र बज्रको प्रतीकात्मक अर्थबारे दर्नालले लेख्नुभभएको छ–“बौद्ध दर्शन अनुसार घण्टालाई निराकार र बज्रलाई साकार रुपको प्रतीक मानिएको छ । घण्टालाई शुन्यस्वरुप प्रज्ञापारमिता (स्त्री) र बज्रलाई साकारस्वरुप प्रज्ञापारमिता (पुरुष) भनिएको छ । सम्पूर्ण संगीतको प्रतीकस्वरुप नै पूजामा घण्टा बजाइएको हो ।”

काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रहरुमा ठुला आकारका घण्टाहरु स्थापना गरिएका छन् । यस्ता ठुला घण्टाहरु खासखास धार्मिक प्रयोजनमा बजाइने बताइन्छ । तत्कालीन राजा रणबहादुर शाहद्वारा वि.सं. १८५४ सालमा काठमाडौँ दरबार क्षेत्रमा ठुलो घण्टाको स्थापना गरिएको हो । यसका तौल झण्डै पाँच सय धार्नी रहेको अनुमान गरिएको छ । यस घण्टामा कुँदिएका अक्षरहरुमा देवी दुर्गा/गौरीको अर्चना गरिएको छ । 

ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको ठुलो घण्टा मल्लकालीन घण्टा हो । विष्णु मल्ल र उहाँकी रानी चन्द्रलक्ष्मी देवीले वि.सं. १७९८ सालमा दरबारको प्राङ्गणमा यसको स्थापना गर्नुभएको थियो । यस घण्टामा श्रीभवानीको अर्चना गरिएको छ । ठुलो खडेरी परेमा यहाँको घण्टी बजाएपछि वर्षा हुने विश्वास पनि रहेको पाइन्छ । राजा विष्णु मल्लले शत्रुको मन थर्काउन मूलचोक अगाडि ठुलो घण्टा राखेको भनाइ पनि छ । 

भक्तपुर दरबार क्षेत्रमा स्थापित घण्टा रणजित मल्लले स्थापना गरेका हुन् । यस घण्टाको स्थापना वि.सं. १७९४ मा गरिएको हो । रणजित मल्लले इष्टदेवी तुलजा भवानीलाई यो घण्टा समर्पण गर्नुभएको भन्ने उल्लेख भएको बताइन्छ । भक्तपुर दरबारको प्राङ्गणमै रहेको वत्सलादेवीको मन्दिर छेउको केही सानो आकारको घण्टा बजाउँदा वरपरका कुकुरहरु रुने गर्दथे भन्ने किम्बदन्ती रहेको बताइन्छ । 

काठमाडौँका मल्ल राजा महेन्द्र मल्ल बडो धार्मिक प्रवृतिका हुनुहुन्थ्यो । उहाँले तुलजा भवानीको मन्दिर निर्माण गराई निकटमा एउटा घण्टा स्थापना गर्नुभयो । त्यस घण्टाको स्थापना गरी प्रजाले बिहान–बेलुका खाना खाने समयमा घण्टा बजाउने नियम राजाले बसालेका भनिन्छ । प्रजाले नखाई उहाँ आफू खाँन्नुहुन्थ्यो । बिहान ९ देखि १० घडीभित्र र बेलुका ८ देखि १० घडीभित्र खाना खाइसक्न समय तोकिएको हुन्थ्यो । निर्धारित समयमा सबैले खाइसक्नुपर्ने नियम बनाइएको थियो भन्ने इतिहासकारहरुको भनाइ छ । 

समयअनुसार ठुला घण्टाको प्रयोग सूचना प्रवाह गर्न पनि प्रयोग गरिन्थ्यो भन्ने बुझिन्छ । स्वरसम्राट नारायण गोपालले २००७ सालको जनक्रान्तिपछि काठमाडौँमा खतराको घण्टी बजेको आफूले सुनेको कुरा ‘घण्टा बज्छ विश्वभरि’ शिर्षक निबन्धमा स्मरण गर्नुभएको छ–“२००७ सालतिर काठमाडौँका टोलहरुमा रातिराति खतराको घण्टी बजेको सुनेको थिएँ । अकस्मात कतैबाट आएर हमला गर्ने त हैन भन्ने सबको मनमा डर एवं आशङ्का हुन्थ्यो । साँच्चै नामै कस्तो डरलाग्दो–खुकुरी दल । त्यसो त भएको केही पनि हैन तर घण्टा भने खूब बजेको थियो । अनि मानिसहरु हातमा केही न केही हतियार बोकेर टोलमा जम्मा हुन्थे, टोलको रक्षार्थ ।”

नारायण गोपालले विश्वमा नै शक्तिशाली मुलुकले आफ्नो प्रतिद्वन्द्वी वा विपक्षीप्रति लक्षित गरी खतराको घण्टी बजाउने गरेको सन्दर्भ उल्लेख गर्दै भन्नुभएको छ–“समयमै जसले खतरा टार्न सक्दैन त्यसको विनाश हुनु असान्दर्भिक होइन । त्यसैले संसारमा जहाँ पनि ‘खतराका घण्टापछि मृत्युको घण्टा’ बज्छ...।” नेपालमा अनेक अवसर र प्रयोजनमा घण्टा बज्ने कुरा नारायण गोपालले निबन्धमा उल्लेख गर्नुभएको छ–“हो, यहाँका अनेक मन्दिरमा घण्टा बज्छन् । कुमारीको रथयात्रामा बाटाभरि रङीबिरङी लुगा लगाएका गुभाजुहरुले घण्टी बजाउने गर्छन् । रेलको सिग्नलमा घण्टी, हाती, गाईभैँसी र गधाको घाँटीमा घण्टी, त्रिचन्द्र कलेजमा घण्टा (घण्टाघर), पाठशाला, व्यारेक र समयको घण्टा, अनि टेलिफोनको घण्टी, ढोके घण्टी (कल बेल), सिनेमा घण्टी, पूजा घण्टी, बतासे घण्टी (फय् गँः) आदि कुनि के के घण्टी हुँदा हुँदा रत्न रेकर्डिङ संस्थानको टे«डमार्कमा पनि उही घण्टी ।” उहाँले तत्कालीन रत्न रेकर्डिङ संस्थानको प्रतीक पनि घण्टी रहेको कुरा पनि स्मरण गर्नुभएको छ । नारायण गोपालले विश्वका विभिन्न राजनीतिक घटनाक्रमहरु आदिका सन्दर्भमा ‘घण्टी’ लाई प्रतिकात्मक÷व्यङ्ग्यात्मक रुपमा समेत उल्लेख गर्नुभएको  छ । उहाँले कतिपय मुलुकमा घण्टा गालेर हातहतियार बनाइएको ऐतिहासिक सन्दर्भलाई पनि निबन्धमा समावेश गर्नुभएको छ । 

नेपालमा धार्मिक प्रयोजनका लागि घण्टा/घण्टीको निर्माण हुन थालेको हजारौँ वर्ष पहिलेदेखि नै  हो । मल्लकालमा घण्टा स्थापना गर्ने प्रतिस्पर्धा नै रहेको कुरा बुझ्न सकिन्छ । शाहकालीन समयारम्भ पछि पनि ठुला घण्टाहरु यत्रतत्र स्थापना गरिएका देखिन्छन् । पशुपति क्षेत्रमा राणा शासकवर्गद्वारा स्थापित अनेकाैँ ठुला घण्टाहरु पनि देख्न सकिन्छ । ठुला घण्टा निर्माणको क्रममा भने केही दशकयता शिथिलता आएको अनुभव हुन्छ । विदेशबाट, विशेषगरी भारतबाट घण्टा/घण्टीको आयातमा वृद्धि हुन थालेसँगै नेपालमा यसको उत्पादन वा निर्माणमा निकै कमी आएको कुरा कलाकार वा संस्कृतिविद्हरु बताउँछन् । धार्मिक महत्व अति नै रहेको यस परम्परागत बाजाको संरक्षण गर्न धातुकलाकारहरुलाई राज्यबाटै प्रोत्साहन दिइनुपर्ने आवश्यकता देखिएको छ ।   

Author

जीवनाथ धमला