• २४ वैशाख २०८२, बुधबार

अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

blog

बलेवा (बागलुङ), पुस ११ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित हुनुभएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो । 

बागलुङ उद्योग वाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायिक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । आइएमई ग्रुपका अध्यक्षसमेत रहनुभएका ढकालले व्यावसायिक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उहाँलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिनुभएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायिक क्षेत्रमा सफलता प्राप्त गर्नुभएको हो । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ । शेरचन प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँहरू दुवै जनाले बैङ्किङलगायतका क्षेत्रमा लगानी गर्नुभएको छ । बागलुङ महोत्सवको सुरुआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरूलाई पनि सङ्घले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरू क्रमशः ध्रुवराज गौतम, वसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहनुभएको छ । 

कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । आजदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । रासस