जनप्रतिनिधि भएपछिको काम र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
जनप्रतिनिधिका रूपमा पहिलो भए पनि सामाजिक रूपमा विकास, निर्माणमा पहिल्यैदेखि सक्रिय थिएँ । स्थानीय सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले धेरै विषयवस्तु बुझ्ने मौका मिल्यो । युवा क्लब, बाटो समिति, संरक्षण समिति जस्ता जिम्मेवारी निर्वाह गरेकाले मलाई यो जिम्मेवारी वहन गर्न सहज नै भयो । पहिलो कार्यकालको अनुभवले दोस्रो वर्षका कार्यक्रम, योजना तय गर्न सहज बनाएको छ । पहिलो वर्ष नै कृषि र पर्यटनको विकासले समृद्धिको आधार तयार गर्ने निक्र्याेल गरेका थियौँ । दोस्रो वर्ष त्यसलाई कार्यान्वयन गर्ने चरणतिर गएका छौँ ।
समृद्धिको सम्भावना देख्नुभएको छ ?
अब पालिका, प्रदेश र सङ्घ सरकारले स्थानीय जनताको आर्थिक स्तर उकास्न, उत्पादनसँग जोड्न साझेदारीमा योजना सञ्चालन गर्नुको विकल्प छैन । धेरै गफ गरिए, भौतिक पूर्वाधारका योजना चलिरहेकै छन् । अब प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनै पर्छ । मादीको हकमा यस्तो सम्भावना भएका क्षेत्र कृषि र पर्यटन नै हुन् ।
कृषि र पर्यटनको विकासमा काम भइरहेको छ ?
मादीका सबै वडामा कृषिको सम्भावना छ । निर्वाहमुखी कृषि भइरहेको छ । सुन्तला करिब मासिइसकेको छ । कफी खेतीको सम्भावना छ, बजार पनि छ । अलैँची खेती पनि गर्न सकिन्छ । सँगसँगै मौरीपालनको पनि अथाह सम्भावना छ । अहिले पनि कफी र अलैँची खेतीसँगै मौरीपालन भएको छ तर नगण्य रूपमा । कफी खेती र मौरीपालन मादीका सबै वडामा गर्न सकिन्छ । अलैँची खेतीचाहिँ वडा नं. १, २, ३, ८, ९ र ११ का केही भागमा गर्न सकिन्छ । अहिले पर्यटनमा उल्लेख्य प्रगति भएको छ । वडा नं. १, २ र ३ का बासिन्दाले पर्यटनबाट लाभ लिएका छन् । वडा नं. १ सिक्लेसमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चाप थेग्न गाह्रो छ । वडा नं. २ को ताङ्तिङ र वडा नं. ३ को यङ्जाकोटको पर्यटन, होमस्टे व्यावसायिकतातिर जाँदै छन् । अरू वडा नं. ५, १० र ११ मा पनि होमस्टे विस्तार हुँदै छन् ।
व्यवसाय गर्नेलाई पनि सहयोग गरिरहनुभएको छ ?
मौरीका घारमा अनुदान, बिउबिजन सित्तैमा वितरण जस्ता कार्यक्रम चलाएका छौँ । हलगोरु पाल्नेलाई अनुदान दिएका छौँ । आधुनिक हलो दिएका छौँ । पर्यटनको सम्भावना भएका क्षेत्रलाई प्रवर्धन र विकास गर्न पनि विभिन्न क्रियाकलाप गरिरहेका छौँ । टान पोखरा, एक्यापसँग सहकार्य गरेका छौँ । साना होटल, कफी हाउसलाई प्रवर्धन गरेका छौँ । पूर्वाधार निर्माणमा सहयोग गरेका छौँ, तालिम दिएका छौँ । यसबाट समृद्धिको ढोका खोलिएको छ । अरू काम क्रमशः हुँदै जान्छन् ।
युवा पलायनको कारण पहिचान गरी निराकरणका उपाय खोज्नुभएको छ ?
युवा पलायनको मुख्य कारण बेरोजगारी हो । यहाँ रोजगारी भए पनि त्यसले जीविकोपार्जनमै सकस हुने हुँदा वैदेशिक रोजगारीमै जान खोज्ने प्रवृत्ति छ । अघिल्लो जनगणनामा भन्दा पछिल्लो जनगणनामा साढे सात हजारभन्दा बढी जनसङ्ख्या घटेको देखियो । गाउँका युवालाई पर्यटन र कृषिसँग जोडेर अनुदान दिनु जरुरी छ । युवालाई व्यावसायिक नबनाएसम्म बसाइँसराइ रोकिन्न । यो कार्यकालको अन्त्यसम्म हरेक घरले मौरीपालन, कफी र अलैँचीबाट आम्दानी गर्ने गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना छ । पर्यटन र कृषिको विकास गरी आउने जनप्रतिनिधिलाई हामी समृद्ध मादी हस्तान्तरण गर्छाैं ।
प्रदेश र सङ्घीय सरकारसँग सहकार्यको अनुभव कस्तो छ ?
कामका सन्दर्भमा खासै सङ्घर्ष भएन तर माथिबाट बजेट पठाउने बेलामा ससर्त र समानीकरण त हाम्रै सिफारिसमा आउने भयो, अरू बजेट हाल्ने बेलामा समन्वय कम भयो । यहाँको प्राथमिकता, सम्भावना बुझ्ने काम भएन । बजेट अन्धाधुन्ध हालिएको हुँदो रहेछ । सिफारिस गरेका योजना आउँछन् । एक, दुई, पाँच लाखका योजना आउँछन् । त्यत्रा योजना त हामीले नै चलाएका छौँ । अलिकति देखिने खालका आयोजनामा लगानी गरिदिए हुन्थ्यो भन्ने लाग्छ । हामीले कार्यपालिकाबाट सिफारिस गरेका क्षेत्रमा लगानी भइदिए सजिलो हुन्छ । कसले मागेको, कहाँका लागि मागेको ? पत्तै नभएका योजनामा बजेट देखियो । यस्तो बजेटबाट ठोस उपब्धि हुने देखिँदैन तर पनि भएसम्म राम्रो काम गर्ने प्रयास हाम्रोतर्फबाट हुने छ ।