बेनी समाचारदाता
म्याग्दी (बेनी), मङ्सिर २८ गते । म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ।नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आर्थिक वर्ष २०७९/८० मा गरेको मूल्याङ्कनमा देशभरका सामुदायिक विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालय घोषित भएको हो । सात वटा प्रदेशका २१ विद्यालयको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गरिएको हो । गण्डकी प्रदेशतर्फ द्वितीय स्थान र नेपालभरमा सातौँ स्थानमापर्न सफल भएको हो।
विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले गुणस्तर सुधार शाखाले हरेक प्रदेशका तीन वटा विद्यालयको स्थलगत अनुगमन गरी विद्यालयका असल अभ्यासको सङ्कलन, प्रकाशन, प्रोत्साहन र प्रबोधीकरण कार्यक्रमतर्फ कार्यसम्पादन मूल्याङ्कनमा ८८ अङ्क प्राप्त गरेको बताउनुभयो । २०११ सालमा अस्थायी रूपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो । २०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागी विद्यालयले हरेक वर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।