• २३ वैशाख २०८२, मङ्गलबार

फस्टाउँदै मौरीपालन

blog

मीना कँडेल 

कावासोती, मङ्सिर २८ गते । नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदयामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिकदेखि सुरु हुन्छ । जिल्लाका किसानले अहिले जिल्लाभित्रै चराउन राखिएका घारबाट मह काढ्न सुरु गरेका छन् । नवलपुरका आठ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोटमा मौरीपालन गरिएको छ । तीमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुली नगरपालिका–९ का जस्मती राना अहिले मह काढ्न र बेच्न व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो, “दुई घारबाट मौरीपालन थालनी गरेका हौँ । अहिले १५ घार पुगेको छ । राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो ।” प्रतिकेजी सात सय रुपियाँका दरले मह बेच्ने गरेको रानाले बताउनुभयो । 

मह बिक्री गर्दा भएको आम्दानी त्यसै आएको जस्तो लाग्छ । घरमा खाना बनाउँदै गरेको समयमा असार, साउनमा एक पटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न सजिलो भएको रानाले बताउनुभयो । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने उहाँले बताउनुभयो । थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । 

यस्तै देवचुली–९ का अर्का किसान विष्णुबहादुर खड्काले बाख्रापालनसँगै मौरीपालन गर्दै आउनुभएको छ । पाँच घारबाट मौरीपालन सुरु गरेका उहाँसँग अहिले २१ वटा घार छन् । पहिलो चरणमा ८४ केजी मह उत्पादन गरेका उहाँले दोस्रो चरणमा एक क्विन्टल २० केजी उत्पादन गरेको बताउनुभयो । पाँच घारबाट सुरु गरेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पु¥याएको र अर्काे वर्ष ५० घार बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । 

देवचुली–७ का सुकबहादुर गुरुङको अहिले मौरीको स्याहारसुसार गर्दै दिन बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उहाँसँग १२० मौरीका घार छन् । वर्षामा खानाको अभाव, परजीवीको समस्या हुने गरे पनि अन्य समयमा भने मौरीपालन गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “परिवारको सहयोग छ, आफैँ मौरीपालनको तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ । अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन,” उहाँले भन्नुभयो । नवलपुर जिल्लामा अहिले झन्डै दुई सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या क्रमशः बढ्दै गएको नेपाल मौरीपालक महासङ्घ, नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताउनुभयो । जिल्लामा बर्सेनि करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ । अहिले मौरीपालक किसानको सङ्ख्यामा वृद्धि भएसँगै मह उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । उत्पादित मह स्थानीय बजारदेखि नजिकका सहरमा खपत हुने गरेको उहाँले बताउनुभयो । 

मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको भने समस्या हुने गरेको छ । स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा किसानले मौरी चरनका लागि अन्य जिल्लामा लैजाने गर्छन् । 

पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्युठान, सल्यानसम्म मौरी चराउन लैजाने गरिएको छ । अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामै चरनका लागि तोरी फुलेपछि ल्याइएको अध्यक्ष कँडेलले बताउनुभयो । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा भने चरनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो । फूल खेल्ने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको कँडेलको भनाइ छ । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरी जस्ता बोटबिरुवा मौरी चरनका लागि ठिक हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडिएको र किसानले खेती गर्नसमेत छाड्ने गरेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको छ ।