काठमाडौं, मङ्सिर २७ गते । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट निवेदन परेका थिए । मङ्सिर ७ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले ती १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।