• १३ असोज २०८१, आइतबार

अन्तर्राष्ट्रिय बालकला मेला सुरु

blog

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र जिपी कोइराला फाउन्डेसन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय बालकला मेला सुरु भएको छ । प्रदर्शनीको कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले कला राजनीति जस्तो नभई सुषुप्त रूपमा अघि बढेर जाने विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जुन रूपमा कलाकृतिको प्रदर्शनी भएको छ, यो सजिलो तवरले भएको पक्कै होइन । यसमा तीन वटा देशका सिर्जनाहरू आएका छन् । यो कलाको एकताको सन्देश पनि हो ।” 

कलाकार राधेश्याम मुल्मीले कला संसारभरिको भाषा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनी मात्र नभएर भविष्यमा कसरी मनोवैज्ञानिक तवरले बालबालिकाको उन्नति गर्न सकिन्छ भन्ने कुराको दीर्घकालीन सोच पनि हो ।” कार्यक्रममा उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ पाल्साङ्मो लामा, रमेश खनाललगायतको उपस्थिति रहेको थियो । प्रदर्शनी २८ गतेसम्म चल्ने छ ।