• ३ जेठ २०८१, बिहिबार

राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा : अध्यक्ष ओली

blog

नेकपा एमाले सिन्धुलीले खुर्कोटमा कलाघर सिन्धुलीले प्रस्तुती गरेको खैजेडी भजनमा नाच्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
खुर्कोट (सिन्धुली), मङ्सिर २६ गते । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) ले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा सुरु गरेको बताउनुभएको छ ।

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा मङ्गलबार भएको जनसंवाद कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने पनि दाबी गर्नुभयो ।

‘‘आज सङ्कल्प यात्राको १३ दिन हो’’, उहाँले भन्नुभयो, ‘‘यात्राको क्रममा हामीले विभिन्न क्षेत्रका विषयमा मागपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझ्दै  आएका छौ । त्यसलाई अध्ययन गरी त्यस ठाउँको विकास र राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रूपमा अध्ययन गरेका छौ । बृहत्तर योजनाहरू बनाई रहेका छौँ ।’’

एमाले अध्यक्ष ओलीले त्यसै सन्दर्भमा जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरू सुन्दै र आफ्ना भनाइहरू राख्दै खुर्कोट आई पुगेको बताउनुभयो । उहाँले जनताबाट गरिबी हटाउने, देशमा समृद्धि ल्याउने र जनतालाई शान्तिपूर्ण, सुखमय, समतामूलक समाज निर्माण गर्ने कुरामा प्रेरित गर्ने काम एमालेले गरी रहेको बताउनुभयो ।

सिन्धुली जिल्ला प्रवेश गर्दा उत्साहपूर्ण स्वागत, सम्मान र माया प्राप्त गरेको चर्चा गर्दै उहाँले त्यसले सङ्कल्प यात्रामा हिँडेको टोलीको मनोबल उच्च बनाउन योगदान पुगेको सुनाउनुभयो ।

अध्यक्ष ओलीले खुर्कोटमा सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालले लेख्नु भएको दुई थान पुस्तक विमोचन गर्नु भएको थियो भने स्थानीयले उहाँलाई चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणका लागि मागपत्र बुझाएका थिए । उक्त जन संवाद कार्यक्रममा कलाघर सिन्धुलीले प्रस्तुति गरेको खैजेडी भजनमा एमाले अध्यक्ष ओली पनि सँगै नाच्नुभएको थियो ।

सङ्कल्प यात्राको क्रममा टोलीले सिन्धुलीको ग्वाल्टारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण र स्थानीयसँग भेटघाट गरेको छ । नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । उक्त यात्रामा पाटीको अरू पदाधिकारी पनि संलग्न हुनुहुन्छ ।