कीर्तिपुर, कात्तिक २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कति दिन प्रधानमन्त्री रहनेभन्दा पनि जनता, सुशासन, समृद्धिको पक्षमा राम्रो काम गर्ने कि नगर्ने भन्ने मुख्य कुरा रहेको बताउनुभएको छ । नेपाल कम्युनस्टि पार्टी (माओवादी कन्द्र) द्वारा कीर्तिपुरमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार कति रहन्छ भन्ने मुख्य नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “२०६४ साल एउटा स्थिति थियो । हामी ६४ मा फर्किन त सक्दैनौँ, आउने भनेको ८४ नै हो । हामी ८४ मा पनि ६४ जस्तै जनताको भरोसा र विश्वास जित्न सक्ने छौँ ।”
उहाँले सरकारले एउटा आन्दोलनको सिर्जना गरेको भन्दै अझै गर्ने सोचमा रहेको र मुख्य कुरा कति दिन प्रधानमन्त्री रहनेभन्दा पनि जनता, सुशासन, समृद्धिको पक्षमा राम्रो काम गर्ने हो भनी विश्वास दिलाउनुभयो । उहाँले जनताको पक्षमा राम्रो काम भए प्रतिक्रिवादी षड्यन्त्रलाई परास्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले अर्थतन्त्र सुधार गर्न निकै प्रयास गरेकाले सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्रीले बताउनुभयो । बैङ्क ब्याजदर घटाउन, जग्गाको कित्ता काट खुलाउन, अर्थतन्त्र चलायमान बनाउन धेरै मेहनत गरेको भन्दै अहिले राजस्व वृद्धि, पर्यटक आगमन एतिहासकै वृद्धि, रेमिट्यान्स वृद्धि हुनुका साथै विदेशी मुद्रा सञ्चितिमा सुधार आएको उल्लेख गर्नुभयो । तिहारपछि अर्थतन्त्र सुधार गर्न बृहत् सम्मेलनको आयोजना गर्ने सचाइ रहेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, सुशासनको नारा दिएर धेरै काम गरेको बताउनुभयो । उहाँले मिटरब्याजपीडितको पक्षमा कानुन बनाएर कारबाही गरेकाले अहिले किसानले मुक्तिको सास फेरिरहेको भन्दै नागरिकताविहीनलाई नागरिकता दिन आँट गरेर एउटा अवस्था सिर्जना गरेको स्मरण गर्नुभयो ।
विदेशमा गएका चार लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडेको, भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिलाई कारबाही गरेर जनतामा आशाको रक्तसञ्चार गरेको चर्चा प्रधानमन्त्री प्रचण्डले गर्नुभयो ।
आफूले सरकारको नेतृत्व गरेपछि भारत, अमेरिका चीन, इटाली भ्रमणबाट नेपालका पक्षमा धेरै काम भएका उहाँले दाबी गर्नुभयो । नेपालको जलवायु परिवर्तनका पक्षमा संयुक्त राष्ट्रसङ्घका महासचिवको अपिलले आगामी कोप सम्मेलनमा क्षतिपूर्ति दाबी गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सरकारले भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गर्न थालेपछि समाजका जाली, फटाहहरूले माओवादीको बदनाम गर्ने र नेतृत्वलाई घेराबन्दी गर्न अनेक कसरत गर्न थालेको उहाँले बताउनुभयो । अहिलेको परिवर्तन उल्ट्याउन प्रतिव्रिmयावादी र समान्तवादी शक्ति लागि परेको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो सबै रोक्ने दायित्व हाम्रो पार्टीको हो । त्यसका लागि माओवादी रूपान्तरण हुनै पर्छ । हाम्रा कमीकमजोरी जनतासामु गएर स्वीकार गर्नु पर्छ भनेर यो अभियान चलाएको हौँ ।” कीर्तिपुरका स्थानीयवासीले सोधेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुभएको थियो । कीर्तिपुर दरबारको पुनर्निर्माण, कीर्तिपुरको बेनिसा, सुकुम्बासीका समस्या समाधान गर्न पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । त्रिभुवन विश्वविद्यालय सभामा स्थानीय सहभागिताका विषयमा सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने उहाँले बताउनुभयो ।