• १ जेठ २०८२, बिहिबार

दुर्घटना न्यूनीकरण गर्न बस चालकलाई प्रशिक्षण

blog

प्रशिक्षणमा सहभागी चालकहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक २५ गते । बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागि बस चालकलाई प्रशिक्षण दिइएको छ । यसले सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण हुने पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । 

प्रालिले २०६६ देखि निरन्तर प्रशिक्षण चलाउँदैआएको छ । प्रशिक्षण कार्यक्रममा दुर्घटना कम गर्न सवारी चालक तथा सहचालकमा जिम्मेबारीबोधका साथ सकारात्मक सोचको विकास हुनुपर्नेमा जोड दिइएको छ । उनीहरुको व्यवहार र प्रस्तुतीमा पनि सुधार ल्याउनु पर्ने कुरामा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिले सुझाव दिएका छन् । 

प्रशिक्षकले चालकलाई समयअनुकुल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरुको तनाव व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरा सुझाएका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तर जारी राखेको उल्लेख गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरेले चालकको स्वभाव र व्यवहारमा परिवर्तन ल्याउन सफल भएको दावी गर्नुभयो ।  

प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी मानवको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सवारी चालक जिम्मेबार हुनुपर्ने कुरामा जोड दिनुभयो । सवारी चालकले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्र नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकलाई आग्रह गर्दै निरीक्षक पाण्डेले सवारीसम्बन्धी नियम कानुनहरु पालना गरेमा दुर्घटना न्यूनीकरण हुने दावी गर्नुभयो । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नुका साथै बर्षेनी हुने धनजनको क्षति कम गर्न सकिने बताउनुभयो । सार्वजनिक सवारी साधन प्रयोगकर्ता सबै पक्ष जिम्मेबार हुनुपर्ने कुरामा जोड दिंदै भुसालले नियमनकारी निकायले पनि कतिपय अवस्थामा सामाजिक र व्यावहारिक पक्षबाट दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सञ्चारकर्मी शरण कर्माचार्यले चालक तथा सहचालकले यात्रुसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने जोड दिंदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि नियमनकारी निकाय पनि जिम्मेबार बन्नुपर्ने कुरामा जोड दिनुभयो । सवारी चालक तथा सहचालकले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुसँगको व्यवहारमा सुधार ल्याउनु पर्ने आवश्यकता उहाँको भनाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर सगठन लुम्बिनीका अध्यक्ष मोहन केसी, सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका सचिव जितेन्द्र खत्रीलगायतले बढ्दो दुर्घटना न्यूनीकरण र सरोकारवालाको भूमिकाबारे चर्चा गरेका थिए ।

विसं २०६६ देखि निरन्तर प्रशिक्षण सञ्चालन गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले १० हजार ५ सय यातायात मजदुर तथा कर्मचारीलाई रोजगारी प्रदान गर्न सफल भएको जनाएको छ । प्रालिमा झण्डै २५ सय बस व्यवसायी सदस्य छन् ।