काठमाडौं, कात्तिक २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत विरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार बागबजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले बिरामीले आवश्यक पर्दा रगत निःशुल्क पाउनु पर्ने बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘दान गरेको रगत निःशुल्क हुनु पर्छ । निःशुल्क गराउने पक्षमा काम भइरहेको छ । म ब्लड ब्याग समेत निःशुल्क हुनु पर्छ भन्ने पक्षमा छु ।’’ रगतको अभाव हुन नदिन संघले आयोजना गरेको कार्यक्रम प्रशंसनिय भएको बताउनुहुँदै मन्त्री बस्नेतले आफू पनि हरेक प्राकृतिक बिपत्तिका बेला रक्तदान अभियानमा संलग्न भएको स्मरण गर्दै कोभिड १९ का बेला मात्र देशका विभिन्न ४० भन्दा बढी जिल्ला पुगेर सयौं वटा रक्तदान कार्यक्रम आयोजना गरेर हजारौको ज्यान बचाएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफुले गरिब र विपन्नको उपचार निःशुल्क गराउन हरेक अस्पतालमा १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क गराएको र देश भरिका सङ्घीय अस्पतालको जनरल बेड निःशुल्क गराएको दाबी गर्नुभयो । कार्यक्रममा मन्त्री बस्नेतले रक्तदाताहरुलाई प्रसंशा पत्र वितरण गर्नुभएको थियो ।