• १३ असोज २०८१, आइतबार

पर्यटन संस्कृति प्रवर्धन गर्न काव्ययात्रा आयोजना

blog

काव्ययात्रामा सहभागी साहित्यकारहरु, कृति विमोचन गर्नुहुँदै ।

प्रनिश गिरी

कुश्मा पर्वत, कात्तिक २३ गते । पर्यटनको गन्तव्य बन्दैगएको पर्वतमा पर्यटन संस्कृति प्रवर्धनका लागि साहित्यसँग सम्बन्धित संस्थाको संयुक्त पहलमा काव्ययात्रा थालिएको छ । लोकसंस्कृति अध्येता तथा अनुसन्धानकर्ता कालीभक्त पन्तको जन्मभूमि फलेवासमा काव्ययात्रा गरिएको हो । 

कवि, साहित्यकार, गायक, पत्रकारलगायत साहित्य अनुरागी व्यक्तित्व सहभागी भई फलेवास नगरपालिकामा फरक शैलीको काव्ययात्रा कार्यक्रमको आयोजना भएको छ । काव्ययात्रामा सहभागी करिब ३५ जना कवि तथा साहित्यकार एवं पत्रकारले फलेवास गाउँपालिकाका विभिन्न पर्यटकीय तथा सांस्कृतिक महत्वका स्थलको अवलोकन भ्रमण गरेका थिए । 

अवलोकन पश्चात् साहित्यकारले फलेवास नगरपालिकाको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सुन्दर पक्षलाई रचनामार्फत वर्णन गरेका थिए । काव्ययात्रा अन्तर्गत गरिएको रचना वाचन कार्यक्रममा राधेश्याम लेकाली, राजेन्द्र केसी, सर्वज्ञ वाग्ले, रेनुका थापा, सरिता अर्याल, नवीन कुमार, निशा केसी, गीता कार्की, नितु कँडेल, दुर्गा शाह, आरके अदिप्त गिरी, सुरेन्द्र असफल, आरजु विष्ट सल्यानी, गणेश श्रवण, लेखराम सापकोटालगायत साहित्यकारको सहभागिता थियो ।

साहित्यकारले वाचन गरेका रचनाहरुमा देशप्रेम, परदेश भासिनुका व्यथा, जनताका दुःखपीडा, प्रकृति र संस्कृति प्रेम, राजनीतिक बेथितिलगायतका विषयवस्तु झल्किएको देखिन्थ्यो । अमेरिका निवासी साहित्यकार महेश्वर पन्तले रचना गरेर्को एक पोल्टो घाम’ शीर्षकको कविता वाचन गरिएको आमा ! एक पोल्टो घाम पठाइदेऊ यहाँ प्रकाश छ, उज्यालो छैन त्यसैगरी अर्को पङ्क्तिमा एक मुठ्ठी माटो पठाइदेउ है आमा, मुटुमा दलेर बाँच्नका लागि भन्ने शब्दहरु सुन्दा सहभागी श्राेताहरुलाई भावुक बनाएको थियो ।  

कार्यक्रममा साहित्यकार महेश्वर पन्तले रचना गरेका कविताको सङ्ग्रह उडेका पैतला नामक कृतिको विमोचन पनि  गरिएको थियो । विभिन्न साहित्यिक विधामा क्रियाशील व्यक्तित्वहरु विदेश तथा स्वदेशका चितवन, काठमाडौं, सोलुखुम्बु, कास्की, गुल्मी, पर्वतलगायत विभिन्न स्थानबाट काव्ययात्रा कार्यक्रममा सहभागी हुनुभएको थियो । 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय संस्कृति समिति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर आयोजक साथै कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयोजकत्वमा काव्ययात्राको आयोजना गरिएको छ ।