• १३ साउन २०८१, आइतबार

भरपर्दो स्वास्थ्य सेवाको अभाव

blog

राम्रोसँग परीक्षण नै नगरी शय्यामा सुताएर शल्यक्रिया गर्न मिल्दैन भनेपछि यही असार २१ गते शिक्षण अस्पताल महाराजगन्जबाट गह्रौँ मन लिएर फर्केको हिजो जस्तो लागेको थियो । दसैँको लागि स्कुल बिदा भइसकेको थियो । काखीमुनिको गिर्खा मेमोग्राम र भिडियो एक्सरेका जाँचहरूले नराम्रो नदेखाए पनि महिलाहरूमा बढ्दो बे्रस्ट क्यान्सरका कारण पछिसम्म नराख्नु नै ठिक भनेपछि फेरि पनि एकचोटि शल्यव्रिmया गरेर फाल्ने निर्णय ग¥यौँ । कसैलाई पनि अस्पताल जाने रहर हुँदैन तर अस्पताल नगएको पहर हँुदैन भने जस्तै कात्तिक १ गते हामीहरूले पनि श्रमिकहरूलाई उपचारमा सहुलियत दिन भन्दै सामाजिक सुरक्षा कोषले रोजेको चाबहिलमा रहेको एउटा नाम चलेको अस्पताल रोज्यौँ । सँगै जोडिएको राम्रो उपचार दिने भनेर आफन्त, सबैबाट सुनिएको मेडिकेयरमा मन भएर पनि जान सकिएन । देशले खेपिरहेको आर्थिक मन्दी र त्यसले बढाएको महँगीबाट परिवार 

भिन्न थिएन । 

सबैको घरघरमा दसैँको रौनक थपिँदै थियो । काखीमुनि भएको गिर्खा हटाउन पाए हुन्थ्यो भन्ने तीव्र आकाङ्क्षाले दसैँको बिदामा पनि टाढा गाउँमा रहेका वृद्ध आमा तथा आफन्तसमेत भेट्न नजाने निर्णय गरेका थियौँ । गत वर्षदेखि उपचार सुरु गरेको यही गिर्खाका कारण वृद्ध आमाको मुख हेर्न अर्को दसैँसम्म एक वर्ष फेरि कुर्नुपर्ने अवस्था आइसकेको थियो । कात्तिक १ गते बेलुकी अस्पताल गयाँैं । शिक्षण अस्पताल महाराजगन्जमा एक वर्ष लगाएर जाँच गरिएका भिडियो एक्सरे, मेमोग्राम आदिका रिपोर्ट चिकित्सकले हेर्नसम्म पनि हेरेनन् । काम छैन भन्दै अर्कोतिर पन्छाए । 

अर्को दिन बिहानै आएर रगतका विभिन्न जाँच, फोक्सो, मुटु तथा काखीको भिडियो एक्सरे, रगतका विभिन्न जाँच गर्न भनियो । दिउँसो साढे एक बजे रिपोर्ट लिन अस्पताल पुग्यौँ । २ बजेपछि आउने भनिएका बेहोस गर्ने डाक्टर साढे तीन बजे पछि मात्रै आए । उनी नआउँदासम्म बिहानदेखि खाना नखाएर शल्यक्रियाका लागि कुरिरहेका बिरामी, उनका आफन्त ढिलो भयो भन्दै छटपटाइरहेका थिए । मेरो पालो साढे ४ बजे मात्रै आयो । शल्यक्रिया कक्षबाट हाम्रो रिपोर्ट हेर्न मात्रै भन्दै एकछिन बाहिर आएका डाक्टरले सुरुमा जाँच गर्ने सर्जनले लेखेको पर्चा हेरेपछि यसमा त बेहोस गर्ने भनेर लेखेकै छैन, ‘लोकल’ भनेर लेखेको छ म हेर्दिनँ भन्दै झर्किंदै फर्के । 

अस्पतालमा नागरिकहरूले सजिलै औषधी उपचार पाउनु नागरिकको हक अधिकार हो भन्ने संविधानमा लेखिए पनि व्यवहारमा लागु भएको कमै पाइन्छ । त्यहाँबाट सोधपुछ कक्षतिर लाग्यौँ । त्यहाँ लोकललाई बेहोस गराउनुपर्ने बिरामी भन्ने अर्को कार्ड बनाइदिए पछि सर्जनलाई भेट्न भनियो । सर्जन भने अघिदेखि रोकिएका शल्यक्रियामा व्यस्त थिए । धेरै बेरपछि उनी बाहिर आए । एकछिनअगाडि सबै रिपोर्ट ठिक छन् बेहोस गराउने डाक्टरलाई भेटेर जानु भनेर उनकै टिमका एक जना डाक्टरले भनेका थिए । तर उनै सर्जनले फोक्सोको रिपोर्ट ठिक छैन । एक्सरेमा खराबी देखिन्छ । यस्तोमा शल्यक्रिया हुन सक्दैन भनेर हिँडीहाले । 

अब फेरि फोक्सोको उपचार नगरी शल्यक्रिया नहुने भएपछि के गर्ने भन्ने हामी दोधारमा प¥यौँ । डाक्टरहरू पनि मान्छे नै हुन् । गलत जसबाट पनि हुन सक्छ । त्यसलाई ढाकछोप गरेर बिरामीलाई दुःख दिनुभन्दा साँचो बोलेर समाधान तिर लाग्नु सबैका लागि राम्रो हो । तैपनि एकचोटि पहिला रिपोर्ट हेर्न नमानेका बेहोस गराउने डाक्टरलाई कुरेर बस्यौँ । यति गर्दा बेलुकीको ५ बजिसकेको थियो । 

शल्यक्रिया कोठाबाट उनी बाहिर आए । सबै रिपोर्ट नर्मल छन् । फोक्सोमा कुनै प्रकारको खराबी छैन । सब ठिक छ भोलि शल्यक्रिया गर्दा हुन्छ भने । डाक्टरको मुखबाट यतिभन्दा पनि काम नै भए जसरी हामी खुसी भयौँ । खाना नखाएको भए आजै पनि हुन सक्थ्यो एक जना नर्सले पनि भन्नुभयो । अर्को दिन आठ बजे नै भर्ना हुन अस्पताल पुगिहाल्यौँ । पौने २ बजे अपरेसन कक्षतिर लगे । योभन्दा अगाडि कहाँनिर गिर्खा छ भनेर भेट भएका चार जना डाक्टरमध्ये एक जनाले पनि छामेर हेरेनन् । शय्यामा सुताएर अपरेसन गर्न ठिक्क पारेपछि कहाँनेर गिर्खा छ भनेर डाक्टरले छाम्नुभयो । तीन वर्षदेखि छाम्दै आएको गिर्खा देखाएँ । डाक्टरबाट कहिलेकाहीँ गल्ती हुन्छ है, एउटा ठाउँमा गर्नुपर्ने अपरेसन अर्कै ठाउँमा पनि भएको छ है पनि भने । डाक्टरले त्यस्तो हुँदैन भन्दै गिर्खा भएको ठाउँमा कलमले कालो चिह्नो पनि लगाए । यति भइसकेपछि म पनि बेहोस भएछु । झन्डै ५ घण्टापछि बेलुकीको ७ बजेतिर अलिअलि होसमा आएँ । 

दुईटा सन्तान पेट चिरेरै अपरेसन गरेर जन्माएकी हुँ । यति गाह्रो भएको थिएन । बेहोसीबाट होसमा आउने बेला मरेर श्वास फर्किंदै छ जस्तो लाग्दोरहेछ । आफू मरेको लास जस्तो भान हुँदोरहेछ । होसमा आउने बेला मरेकी रहेनछु कि क्या हो जस्तो लाग्दो रहेछ । होसमा आएपछि पनि टाउको भारी, रिँगटा लाग्ने, वाक्वाकी लाग्ने रहेछ । अर्को १५ घण्टाभन्दा बढी पानीको एकथोपा पनि नखाइ अर्धचेत अवस्थामा अस्पतालको शøयामा पल्टिरहेँ । 

२८ घण्टाको अस्पताल बसाइमा एक घण्टा जति सुतेकी थिएँ । शल्यक्रियापछि बिरामीले आराम गर्ने कक्षमा साह्रै हल्ला हुँदोरहेछ । कहिले भाँडा सफा गर्ने त कहिले लुगा धुने, पानीका धारा खोलेर राख्ने, फोनको घण्टीले पनि अति नै समस्यामा पार्दोरहेछ बिरामीलाई । तैपनि मनमा खुसी लागिरहेको थियो । कात्तिक ४ गते अस्पताल गएको झन्डै २८ घण्टापछि डिस्चार्ज भएर खुसी हुँदै घर फर्कें । सबैलाई दसैँ लागिरहेको थियो । 

कात्तिक ६ गते घाउ मात्रै छोपिने गरी तेस्रो पटक ड्रेसिङ गरियो । गिर्खा गयो होला भनेर डराइडराइ बिस्तारै काखीमुनि छामेँ । म त छाँगाबाट खसे जस्तै भए । तीन वर्षदेखि छाम्दै आएको गिर्खा जहाँको त्यहीँ थियो । रातभरि निद्रा लागेन । अर्कोदिन बिहानै डाक्टरलाई देखाउन फेरि अस्पताल दौडिएँ । जबरजस्ती डाक्टरलाई गिर्खा छाम्न लगाएँ । गिर्खा त त्यही पो छ त उनले पनि त्यहीँ छ भने । त्यो निकालेको गिर्खा त कहिल्यै भेट्टाएको थिइनँ । डाक्टरहरूले कसरी भेट्टाए ? अचम्ममा परेकी छुँ । भिडियो एक्सरेमा एउटा मात्रै गिर्खा कसरी देखायो ? अर्को किन देखाएन ? हातले छाम्दा सजिलै भेटिने गिर्खा किन देखाएन ? कहिल्यै नभेटिएको गिर्खा चाँहि कसरी देखायो ? सबै रहस्यमय लाग्यो । भिडियो एक्सरेको पनि भर लागेन ।

अब यो घाउ ठिक भएसँगै छ हप्तापछि फेरि भिडियो एक्सरे गरेर हेर्ने भनेका छन् । त्यसपछि के के हुने हो हेर्न बाँकी छ । सामुदायिक अस्पताल भनिए पनि १ गतेदेखि ६ गतेसम्म एउटै बिरामी एउटै रोगको तीनचोटि टिकट काट्न लगाइयो । सामाजिक सुरक्षा कोषबाट जाने बिरामी र अन्य बिरामीहरूको टिकटको पैसा पनि छुट्टै लिएको देखियो । जबकि दुईटै खाले बिरामीका लागि काटिने टिकटको पैसा एउटै भएर त्यसमा एसएसएफबाट जाने बिरामीलाई ८० प्रतिशत छुट हुनुपर्ने हो । साथै एउटै टिकटले १० दिनसम्म काम गर्छ भनिए पनि डाक्टरले जाँच गर्न, त्यही रिपोर्ट बेहोस गराउने डाक्टरलाई देखाउन, र त्यही घाउ सफा गर्न फेरि पनि गरेर छ दिनमा टिकट मात्रै तीनचोटि काट्नु प¥यो । मेरो त ८० प्रतिशत सामाजिक सुरक्षा कोषले तिरिदिन्छ उपचार गराएको । तैपनि अस्पतालहरूमै बिरामीबाट खुलमखुला रूपमा भइरहेको लुटपाट देख्दा नियामक निकाय नै नभएको जस्तो लाग्छ घरिघरि ।  

Author

मञ्जु भट्ट