• १३ साउन २०८१, आइतबार

गुल्मीका विभिन्न स्थानमा किबी खेती

blog

गुल्मीमा गरिएको किबी खेती ।

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १२ गते । गुल्मीको भार्सेमा पहिलेदेखि नै किबी खेती हुने गरेको थियो । पछिल्लो समय यस जिल्लाको विभिन्न स्थानमा किबी खेती हुने गरेको छ । हाल उत्पादन भएको किबी फल महँगोमा बिक्री भएपछि कृषकहरू यसको व्यावसायिक रूपमा खेती गर्न लागिपरेका छन् । 

अहिले किबी फल टिप्ने बेला सुरु हुन थालेको छ । यो फल कात्तिक महिनाबाट मङ्सिर अन्तिमसम्म पाक्ने गर्दछ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा ९ मा वीरबहादुर कार्कीले किबी खेती गर्दै आउनुभएको छ । सुरुमा किबीका बिरुवा बेच्दै आउनुभएका कार्कीले पछिल्लो केही वर्ष यता किवी खेती पनि गर्दै आउनुभएको हो ।

उहाँले २०७२ देखि किबी खेती सुरु गर्नुभयो । २०७५ देखि किवीले उत्पादन दिन थालेको छ । यस वर्ष पाँच क्विन्टल किबी उत्पादन भएको बताउनुभयो । उत्पादित किबी तम्घास बजारमै खपत हुनेगरेको उहाँले बताउनुभयो । 

कार्कीजस्तै जिल्लामा अरू धेरै कृषकहरू किबी खेतीमा हुनुहुन्छ । कम मेहनतबाट हुने यो खेतीमा धेरैको आकर्षण बढनेगरेको छ । सुन्तला र स्याउ नहुने बिचको क्षेत्रमा किबी खेती हुने गर्दछ । समुन्द्री सतहदेखि १२ सय मिरटभन्दा माथि किबी खेती हुनेगर्छ ।

यहाँ १२ सय मिटरभन्दा माथिका भाग धेरै रहेकाले किबी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । कालिगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा किबी खेती हुँदैआएको बताइएको छ ।

हाल एक हजार हेक्टर क्षेत्रफलमा सजिलै किबी खेती गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । सरदर ३०० रुपियाँदेखि ५०० रुपियाँसम्म प्रतिकिलो किबी बिक्री हुनेगरेको छ । धेरै ठाउँमा उत्पादन हुँदैआएकाले यसको मूल्य सरदर १०० रुपियाँ प्रतिकिलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुने उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा किबी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गर्दैआएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्नेगरेको छ । अहिले कालिगण्डकी, सत्यवती र मालिकाको ह्वाङदी, नेटामा किबी खेतीका लागि कार्यालयले सहयोग गर्दैआएको छ ।

यसवर्ष किबी विशेष कार्यक्रम भनेर कालिगण्डकी गाउँपालिकाको वडा १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमुना किबी खेती बिस्तार हुनेभएको छ । त्यसका लागि कृषि ज्ञान केन्द्र गुल्मीले २८ लाख रुपियाँ विनियोजन गरेको छ । यो फार्म जिल्लाकै नमुना रूपमा अगाडि बढाइने बताइएको छ ।