• २० असोज २०८१, आइतबार

सराँय नाचमा युवापुस्ताको आकर्षण

blog

बुटवल ११ देविनगरमा आयोजित सराँय नाचमा सहभागी । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक ११ गते । पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दैगएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराँय नाचको आयोजना गर्दैआएको हो ।

लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्र रहेको नाच विगत १२ वर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दैगएको छ । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा, त्यसैगरी बागलुङ र स्याङ्जामा यो नाच प्रख्यात छ ।

पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाले परम्परा जोगाउने उद्देश्यले नाचमार्फत  बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियारस्वरुप भाला, खुकुरी, तरबार नचाएर दिनभर प्रदर्शन गरिएको छ । पञ्चेबाजाले सो क्षेत्रको माहौल नै रमाइलो बनाएको थियो । 

विगत ११ वर्षदेखि सराँय नाच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो । परापूर्वकालदेखि नै सराँय नाच चलिआएको र अहिले नयाँ पुस्ताले सांस्कृतिक नाच बिर्सँदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको उहाँको भनाइ छ ।

गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराँय असत्यमाथि सत्यको विजयकोउत्सवको रूपमा मनाइने प्रचलन रहेको छ । लुम्बिनी वाणिज्य क्याम्पस खेल मैदानमा देखाइएको नाचले परम्पराको जगेर्ना गरेको स्थानीय कुलप्रसाद केसीको भनाइ छ । सहभागीले हातमा ढाल, तरबार, खँडा, खुकुरी बोकेर नाचिरहेको र नयाँपुस्ता यसमा रमाइरहेको उहाँको भनाइ छ ।

पछिल्लो पुस्तालाई सराँय नाचबारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्सेनि यो नाच देखाउँदा युवापुस्ताको समेत रुचि बढ्दैगएको रवि पोखरेलको भनाइ छ ।

बुटवल ११ देवीनगर चौपारीछेउका व्यवसायी भीम ज्ञवालीका अनुसार यस नाचले देवी भगवती खुसी हुने र राक्षसलाई बध गर्दा प्रयोग गरिएका धारिला हतियारका बारेमा सबैलाई जानकारी हुने उहाँको भनाइ छ । हामीले पहाडमा सानोमा देखेको तर यहाँ आएपछि बल्ल सराँय खेल्न पायौँ नाचमा सहभागी युवती देवीनगरकी तुलसा पौडेलले भन्नुभयो ।

सराँय हेर्नका लागि मानिसको बाक्लो भीड लागेको थियो । त्यस्तै, बुटवल –१२ नयाँ गाउँमा रहेको सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराँय नाच देखाउन सुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो । यस्तै बुटवल १३ जितगढीमा पनि सराँय नाच देखाइएको स्थानीय ऋषि आजादले बताउनुभयो ।