• २० असोज २०८१, आइतबार

गोरखा दरबार दसैंघरमा जमरा राखियो

blog

ऐतिहासिक गोरखनाथ गुफामा राखिएको जमरा । तस्विर : नरेन्द्र ढकाल

नरेन्द्र ढकाल

गोरखा, असोज २८ गते । गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।

११ बजेर २९ मिनेटको साइतमा विधिपूर्वक घटस्थापना गर्ने काम सम्पन्न गरिएको मन्दिरका पुजारीले बताएका छन् । ‘दसैंघरको पूजाकोठामा ११ माना, गोरखनाथ बाबाको गुफा ११ माना, उपल्लोकोटमा १ माना र तल्लाकोटमा १ माना र अन्य विविध ठाउँमा गरी ३ पाथी जतिको जौको जमरा राखिएको छ ।’ 

गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले भन्नुभयो, ‘योसँगै यस वर्षको दसैँको पूजाआजा पनि विधिवत् रूपमा सुरु भएको छ ।’ जमरा राख्नुपूर्व कागेअष्टमीका दिन मालश्री धुन परिवर्तन भएपछि माटो हेराउने काम गरिन्छ । 

त्यसपछि खनखवास जातकी कन्याले शुभसाइतमा उपल्लो कोटबाट माटो ल्याएर दसैंघर लिपपोत गरिएको थियो । त्यही माटोमा जमरा राखिएको मुख्य पुजारी भट्टराईले जानकारी दिनुभयो । यस वर्ष चित्रा नक्षत्र र वैदिक योग परेकाले दुःख शान्तिका लागि हवन र पाठ समेत गरिएको छ । 

परम्पराअनुसार (झिसमिसे) ५.१५ मिनेटको शुभसाइतमा काली भगवतीलाई कैलाश भवनबाट दसैंघरमा सवारी गराइएको छ । अब दसैँ सकिएपछि दुर्गाभवतीलाई विसर्जन गरेर काली भगवतीलाई गर्भगृहमा लगिने उहाँको भनाइ छ । 

नवरात्रको पहिलो दिन शैलपुत्री भगवतीको पूजा गरिएको छ । अब नियमित रूपमा नवरात्रका पूजाआरधाना सुरु हुनेछ । ‘पछिल्लो समय सरकारले बजेट कटौती गरेसँगै सरकारी बलिघटेको छ’ उहाँले भन्नुभयो, ‘१६ वटा राँगा, ३६ वटा बोका, १० वडा भेडा, ८ वडा कुखुरा, ५ वटा सुँगुरगरी ७५ वटा बली दिने कार्यक्रम छ ।’ सो बली पर्वअनुसार विभिन्न साइतमा दिइने उहाँले बताउनुभयो ।

२०७२ वैशाख १२ गते वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको गोरखा दरबार पुनर्निर्माण सम्पन्न भएसँगै यस वर्षदेखि पूजाआजामा भक्तजनलाई सजिलो हुने विश्वास लिइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । 

यसैगरी प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि विधिपूर्वक जमरा राखिएको छ । मनकामनामा भने मकै र जौको छुट्टाछुट्टै जमरा राख्ने प्रचलन रहेको मन्दिरका पुजारी इन्सानबहादुर थापागरले जानकारी दिनुभयो । दसैंघरमा गणेश र कलश स्थापनागरी शुभ साइतमा जमरा राखिएको हो ।