काठमाडौं, असोज २६ गते ।
शुक्रबार अपराह्न राष्ट्रपति भवनमा पत्रकारहरूको बाक्लै उपस्थिति थियो । सन्दर्भ चाहिँ रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि पत्रकारहरुसँग भेट गर्ने र प्रमुख चाडपर्वको शुभकामना आदान प्रदान गर्ने रहेछ ।
जलपान कार्यक्रममा पत्रकारहरूले आफ्नो मोबाइल कि त आफ्नै सवारी साधनमै वा सुरक्षा निकायले तोकेको स्थानमा राखेपछि भित्र प्रवेश पाउने व्यवस्था थियो । यो प्रचलन अघिल्ला राष्ट्रपति विद्यादेवी भण्डारीकै पालादेखि चलेको हो र यसले निन्तरता पाएको देखियो ।
निम्ता गरिएका पत्रकारको प्रवेश सकिए लगत्तै राष्ट्रपति पौडेल शालीन मुस्कानसहित अभिवादन गर्दै बैठक कक्षमा प्रवेश गर्नुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पत्रकारहरूको स्वागत गर्दै छोटो परिचयका लागि आग्रह गरे अनुसार सबैले आफ्नो र मिडियाको नाम मात्रै भने ।
पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ
परिचय सकिएलगत्तै करिब डेढ सय शब्दको सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताउनु भयो । उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रँदा आफ्नो पेशागत मूल्य मान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको उल्लेख गर्नुभयो ।
पत्रकारिता क्षेत्रमा छिटो र सनसनीपूर्ण समाचार दिने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको सन्दर्भलाई सङ्केत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्याउन सक्नेतर्फ सचेत हुन म तपाईहरूलाई आग्रह गर्दछु ।’’
राष्ट्रपतिले पत्रकारका कलम संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा चल्ने विश्वास व्यक्त पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी हामीले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने नै छ भन्ने मलाई विश्वास छ ।’’
राष्ट्रपतिको सम्बोधन सकिएलगत्तै राष्ट्रपति भवन अगाडि सामूहिक तस्बिर लिने कार्य भयो । त्यसपछि जलपानमा सबै सहभागी हुने क्रम सुरु भयो । पाँच–छजना पत्रकार बस्ने गरी तयार गरिएको टेबुलमा पत्रकारहरू खाँदै गफिँदै गर्दा राष्ट्रपति पौडेल पनि टेबल–टेबलमा आएर बसेपछि पुरानो चिनजान र भलाकुसारी गर्न सबैलाई सजिलो भयो । यो सरलपन राष्ट्रपति पौडेलले पत्रकारसँग मात्र होइन अन्य सर्वसाधारण र विशिष्टि व्यक्तित्वसँग पनि गर्दै आउनु भएको जानकारी प्राप्त भयो ।
पत्रकार न हुन अन्तर्वार्ता लिन समय दिनु पर्यो भनेर प्रस्ताव गर्नेको सङ्ख्या धेरै थियो । कतिपयले राष्ट्रपतिको स्वास्थ्यप्रति चासो राखे भने कतिले आफ्ना निजी मामिला पूरा गर्नका लागि भनसुन गर्न भ्याए । तर राष्ट्राध्यक्षको मर्यादा र सीमाको ख्याल भयो भएन ? त्यो त पत्रकारले नै बुझ्नुपर्ने विषय हो । धन्न मोबाइल बाहिर नै राखिएकाले सेल्फीको चक्कर चलेन ।
राष्ट्रपति सुरक्षाकर्मीको घेरामा रहने परम्परा रहे पनि पत्रकारसँग भलाकुसारी गर्दा एकजना मात्रै सुरक्षाकर्मी साथमा थिए । राष्ट्रपति पदमा निर्वाचित हुनुपूर्व गोरखापत्र अनलाइनले उहाँसँग संवाद गरेको थियो, त्यसमा उहाँले ‘गणतन्त्रको राष्ट्राध्यक्ष पनि बदलिनुपर्छ’ भनेर मन्तव्य दिनुभएको थियो । शायद भन्ने मात्र होइन व्यवहारमा रुपान्तरण पनि गर्ने हो ।
त्यसैले होला साइरन नबजाइ हिँड्ने, सवारीको लावा लश्कर कम गर्ने, सकभर हेलिकोप्टरको प्रयोग नगर्ने, विश्व सम्पदा सूचीमा परेको हनुमान ढोका दरबार क्षेत्रमा जाँदा पैदल हिँडेर जानेजस्ता कार्य राष्ट्रपति पाैडेलबाट भएका छन् । प्रजातन्त्र र लोकतन्त्रका लागि लड्दा झण्डै १४ वर्ष राजनीतिक बन्दी जीवन बिताउनु भएका पौडेलले राष्ट्रपति भएपछि अघिल्ला राष्ट्राध्यक्षभन्दा अझ सरल र सादगी जीवन अप्नाउन थाल्नु भएको छ । याे यात्रा अविरल रहने नै छ ।