सिराज खान
नेपालगन्ज, असोज २६ गते । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यसँग नेपालगन्जमा शुक्रवार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक बोर्डको सचिवालयले नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाबाट वैदेशिक रोजगारमा रहेका कामदारका परिवारसँग सो अन्तरक्रिया गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका रोजगार शाखाको समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवा, त्यसका लागि गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातका विषयमा परामर्शसँगै सुरक्षित वैदेशिक रोजगारीका लागि ध्यान दिनुपर्ने पक्षमा छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका निर्देशक सीता दुवाडीले सुरक्षित वैदेशिक रोजगारीका लागि अनिवार्य श्रम स्वीकृति लिन, सीप सिकेर मात्र जान, अभिमुखीकरण तालिम अनिवार्य रुपमा लिन, स्वास्थ्य परीक्षण र बीमा आधिकारिक संस्थाबाट मात्र गराउन तथा घरपरिवारसँग सल्लाह गरेर जान आग्रह गर्नुभयो ।
उहाँले वैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गरिरहेको राहत, उद्धार तथा कल्याणकारी सेवाका बारेमा जानकारी गराउनुभयोे । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सकेसम्म स्वदेशमै बसेर काम गर्न आग्रह गर्दै वैदेशिक रोजगारीमा जानैपरे सीप सिकेर मात्र जानुपर्नेमा जोड दिनुभयो ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत नरबहादुर चन्दले यस आर्थिक वर्षमा देशका सात वटै प्रदेशमा वैदेशिक रोजगारमा रहेका कामदारका परिवारसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्ययोजना बमोजिम अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका रोजगार शाखा संयोजक मञ्जु ज्ञवालीले नेपालगन्जमा वैदेशिक रोजगारमा रहेका कामदारका परिवार धेरै विषयमा अनभिज्ञ रहेका कारण अन्तरक्रिया कार्यक्रम निकै फलदायी रहेको विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा रिटर्नी माइग्रेन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, हरि सुवेदीलगायतले सहजीकरण गर्नुभएको नेपालगन्ज उपमहानगरपालिका रोजगार सहायक अनुप बर्माले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार विभागले गर्ने राहत, उद्धार तथा कल्याणकारी कार्यमा विदेशमा अलपत्र परेको शवको उद्धार, विदेशमा मृत्युु भएका कामदारको शव झिकाउने, मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता दिने, अङ्गभङ्ग भएका कामदारलाई आर्थिक सहायता दिने, कामदारको परिवारलाई उपचार सहयोग प्रदान गर्ने, कामदारको छोराछोरीलाई छात्रबृत्ति प्रदान गर्ने र स्वदेश फर्किएका कामदारलाई पुनः एकीकरण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नेलगायत रहेको अन्तरक्रियामा जनाइएको छ ।