• २२ मंसिर २०८०, शुक्रबार

सबैको साझा प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री यादव

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री यादव । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असोज ११ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबैको साझा प्रयासबाट मात्र विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार प्लान इन्टरनेशनल नेपालको २०२३ देखि २०२८ सम्मको पाँच वर्षीय राष्ट्रिय रणनीति सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सामाजिक विकासको मुद्दा सरकारको मात्रै नभई हामी सबैको रहेकाले त्यस्ता मुद्दाको सवालमा हामी सबै हातेमालो गरी काम गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री यादवले प्लान इन्टरनेशनलको रणनीति तयार हुनु मात्रै उपलब्धि नभएको भन्दै तयार रणनीतिको कार्यान्वयन भएपछि उपलब्धि हासिल हुने भएकाले कडाइका साथ कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । 

उहाँले मधेश प्रदेशको आवश्यकतालाई अध्ययनगरी इमान्दारिताका साथ काम गर्ने संस्थाका लागि उपयुक्त वातावरण भएको भन्दै प्रदेश सरकार आवश्यक सहयोग सहकार्य गर्न तयार भएको बताउनुभयो । उहाँले मधेश प्रदेशको अन्य जिल्लामा पनि कार्यक्रम सञ्चालनका लागि प्लान इन्टरनेशनलका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्लान इन्टरनेशनल धनुषाका प्रोजेक्ट मैनेजर मन्दिरा न्यौपानेले प्रदेशको अवस्था र प्लान इन्टरनेशनले अगामी पाँच वर्षका लागि तयार पारेको राष्ट्रिय रणनीतिको विषयमा आफ्नो प्रस्तुति गर्नुभएको थियो । नेपालमा सबै बालबालिका, किशोरी तथा युवा महिला सशक्त हुनुका साथै आत्मसम्मानका साथ आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्न पाउने किसिमले रणनीति तयार पारिएको प्रोजेक्ट मैनेजर न्यौपानेले बताउनुभयो । 

प्रस्तुतीकरणको क्रममा उहाँले २०७८ सालको जनगणनाअनुसार मधेशमा ५४.७ प्रतिशत महिलामात्र साक्षर रहेको, ३२.८ प्रतिशत २० देखि २४ वर्षका महिला १८ वर्ष उम्मेर पुग्नुअघि नै विवाह गरेको, नेपालमा ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्लान इन्टरनेशनलका क्षेत्रीय कार्यालयका पूर्वप्रमुख रविशंकर पण्डितले मधेश प्रदेशको मानव सूचकाङ्कलाई ध्यानमा राखेर राष्ट्रिय रणनीति तयार पारिएको बताउनुभयो । 

प्लान इन्टरनेशनल नेपालका निर्देशक राम कृष्णको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णा यादव, शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादव, नीति तथा योजना आयोगका उपाध्यक्ष नथुप्रसाद चौधरीसहितकाले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा धनुषा र सिन्धुली जिल्लाका स्थानीय पालिका प्रमुख र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।