• २० असोज २०८१, आइतबार

मोहम्मद जयन्तीको अवसरमा स्थानीय बिदा

blog

गत बर्ष कपिलबस्तुको सदरमुकाम तौलिहवामा मनाइएको मुहम्मद जयन्ती ।

नारद कोहार

तौलिहवा, असोज १० गते । लुम्बिनी प्रदेशसहित कपिलवस्तुका स्थानीय पालिकाले मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा स्थानीय बिदा दिएका छन् । 

जिल्लाको महाराजगञ्ज नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकाले सो अवसरमा बिहीबार बिदा दिएका हुन् । उक्त पर्वका अवसरमा मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।  

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । 

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने गरेका मुस्लिम अगुवाहरू बताउँछन् ।