• २४ मंसिर २०८०, आइतबार

पर्यटन दिवसको अवसरमा वृक्षारोपण

blog

धर्बेन्द्र झा

धनुषा, असोज १० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पर्यटन र हरित लगानी भन्ने मूलनाराका साथ ४४ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

दिवसको अवसरमा मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले वृक्षारोपण र प्रभातफेरीको आयोजना गरेको छ । जनकपुरधामको रेल्वे स्टेशन नजिकको पार्कमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवसहितका सहभागीले गुलमोहरसहित विभिन्न प्रकारका वृक्षहरू रोपण गर्नुभएको थियो । 

वृक्षारोपण पश्चात् सो ठाउँबाट निकालिएको प्रभातफेरीमा युवा, विद्यार्थी, व्यापारी, पर्यटन व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । नगरको विभिन्न भागको परिक्रमागरी जानकी मन्दिर पुगेर सभामा परिणत भएको थियो । 

जानकी मन्दिरमा सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटनमन्त्री यादवले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्य रामअषिश यादवले  मधेश प्रदेशमा कृषि र पर्यटन क्षेत्रमा राज्यले लगानी गरे मधेशको कायापलट हुने बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहले पर्यटनको क्षेत्रमा तीनै तहका सरकारले समन्वयगरी लगानी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले एकै ठाउँमा तीनै सरकारले बजेट विनियोजन गर्दा कामभन्दा पनि काजमा काम हुनेगरेको गुनासो गर्नुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका उपाध्यक्ष अम्बु साहसहितले वृक्षारोपण गरी वातावरणलाई सन्तुलन गर्ने काममा पनि हामी सबैको ध्यान जानुपर्ने बताउनुभयो ।