बिन्दु थापा
पाल्पा, असोज १० गते । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा वर्षौँदेखि खानेपानी समस्या भोग्दैआएका तानसेनबासी पानीको सहजता हुन थालेपछि खुसी भएका छन् । नयाँ समिति गठन भएसँगै पानी वितरण सहज हुँदा स्थानीय उपभोक्ता खुसी भएका हुन् ।
तानसेनमा लामो समयदेखि होटल सञ्चालन गर्दै आउनुभएका होटल व्यवसायी लक्ष्मण बस्यालले होटलमा समेत खानेपानी आपूर्ति बढेकाले ट्याङ्कर प्रयोग गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
तानसेनका बाहिरी धारामा समेत मानिसको भीड देख्न छाडिएको छ । देववाणी संस्कृत तथा साधारण माविका प्रधानाध्यापक कृष्ण थापाले तानसेनमा अहिलेको जस्तै पानी निरन्तर पाउने हो भने विद्यार्थी पढ्न आउने दरमा वृद्धि हुने बताउनुभयो । थापाले भन्नुभयो, ‘पानीका कारण बाहिरी जिल्लाबाट पढ्न आउने विद्यार्थी समेत घटेको अवस्थामा छ । पानीको सहजतासंगै विद्यार्थीको आउने सङ्ख्या बढ्नेमा दुईमत छैन ।’
उपभोक्ता रुबिन पचभैयाले राजनीतिक दलको भागवण्डामा बनेको समितिले काम नगरेपछि तानसेनमा उपभोक्ता भेला भएर यसरी धारामा दुई दिन बिराएर पानी भर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार पुरानो समितिले मनपरी धारा वितरण गरेको थियो । श्रेष्ठले भन्नुभयो, ‘उपभोक्तालाई बाँड्ने पानीका ट्याङ्कीबाट समितिका पदाधिकारीका घरमा ८ वटा धारा समेत लगिएको, उपभोक्तालाई भ्रममा पार्न मोटर बिग्रेको भनी गाडीमा बुटवल लैजाने तर मर्मत नगरी तीन–चार पटक ल्याउने लैजाने मात्र गर्ने गर्दा महिनौँसम्म तानसेन नगरवासीले पानी खान पाएका थिएनन् ।’
पुरानो समिति विघटन भए पनि कार्यवाहक अध्यक्ष पुरनमान बज्राचार्यले कार्यालयमा गएर तालाबन्दी गर्नुभएको थियो । नयाँ समितिले ताला फुटाएर कार्यसञ्चालन गरेको छ । यता, पुरानो समितिका कार्यवाहक अध्यक्ष बज्राचार्यले सर्वोच्च अदालतमा तदर्थ समितिलाई अवैधानिक भन्दै अन्तरिम आदेश माग गरेर मुद्दा पनि दर्ता गरेर सँगै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुन माग गरेको सन्दर्भमा तत्काल आदेश नदिई कारण पेस गर्न दुवै पक्षलाई समय दिएको छ ।
तानसेनको पर्यटन, शिक्षा र स्वास्थ्यमा खानेपानी महत्त्वपूर्ण भएकाले काकाकुल भनेर चिनिएको तानसेनलाई परिवर्तन गर्न लागिपरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।
तीन वर्षे कार्यकाल रहेको तानसेन खानेपानी उपभोक्ता समितिले २०७३ पछि निर्वाचन गर्न सकेको थिएन । ८५ वर्षदेखि तानसेनलाई पानी खुवाएको कुरूङ खोलाबाट बढीमा दैनिक ८० हजार लिटर पानी आउँछ । यसको पाइपको हावा फाल्ने सिस्टम बनाइएको छ । धेरै पानी चुहिएर खेर जाने समस्या थियो । पछिल्लो वर्षमा नगरको बजारक्षेत्रमा मात्र ३० हजार जनसङ्ख्या छ । २०६८ सालमा १७७६ उपभोक्ता रहेको तानसेनमा अहिले ४ हजार १७४ पुगेका छन् ।