• १३ साउन २०८१, आइतबार

पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै जलाशय

blog

जलासयको अवलोकन गर्नुहुँदै आन्तरिक पर्यटक । तस्विर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, असोज १० गते । जैविक विविधता संरक्षण, माछापालन र सिँचाइ सुविधाका लागि निर्माण गरिएका जलाशय पछिल्लो समय पर्यापर्यटनको केन्द्र बन्न थालेका छन् । 

दाङ उपत्यका बृहत् सिँचाइ आयोजना, डिभिजन वन कार्यालय, सामुदायिक वनले दाङ उपत्यकाका घोराही, तुलसीपुर उपमहानगरपालिका, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकामा जलाशय निर्माण गरेका छन् । 

जलाशयमा पछिल्लो समय पर्यापर्यटनका केन्द्रबिन्दु बन्न थालेका छन् ।  जलाशयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटकका लागि ढुङ्गा खरिद गरेर सञ्चालनमा ल्याएका छन् । घोराही उपमहानगरपालिका भित्र तीन दर्जन बढी जलाशय निर्माण गरिएका छन् । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका भित्र एक दर्जन बढी जलाशय निर्माण गरिएका छन् । 

तुलसीपुर उपमहानगरपालिकाले वडा १, २ र १८ नम्बर वडामा निर्माण गरिएका जलाशयमा ढुङ्गा सञ्चालनका लागि आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरेको छ । तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले विगतमा पर्यटक आकर्षणका केन्द्रबिन्दु मठमन्दिर, पाटीपौवा, गुफा, बन्दै गएकोमा पछिल्लो समय जलाशयतर्फ आकर्षण बढेको बताउनुभयो । 

उहाँले जलाशयमा थप आकर्षण बढाउन सुरुवाती चरणमा केही जलाशयमा ढुङ्गा सञ्चालनका लागि बजेटको व्यवस्थापन गरिएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले समेत निर्माण गरिएका जलाशयमा पर्यटक आकर्षण गर्नका लागि ढुङ्गा सञ्चालनमा ल्याएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष भीमबहादुर योगीले भ्यूडहर सोनपुर सामुदायिक वनको पाँच बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएसँगै पर्यटकहरू घुम्न, वनभोजका लागि आउनेगरेको बताउनुभयो । त्यस्तै, वडा १८ मा कात्तिके रानी सामुदायिक वनभित्र निर्माण गरिएको जलाशयमा दिनहुँ पर्यटक घुम्न, अवलोकन गर्न आउनेगरेको स्थानीय खिमबहादुर डाँगीले बताउनुभयो । 

उपत्यकाको ५८ हजार हेक्टर खेतीयोग्य जमिन रहेका छ । तीमध्ये २८ हजार हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिँचाइ सुविधा पुग्दैआएको छ । जलाशय निर्माण गरिएसँगै बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल बढ्दैगएको छ । 

पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतकाअनुसार जलाशय निर्माणले पर्यावरणमा संरक्षणका साथै पर्यटक बढ्दै गएको बताउनुभयो । जलाशय निर्माणसँगै आगन्तुक चराको सङ्ख्या बढ्ने र चरा हेर्नका लागि पर्यटक आउने उहाँले बताउनुभयो । यस क्षेत्रमा एकसय १२ प्रजातिका चराको वासस्थान छ ।