अर्जुन काफ्ले
स्याङ्जा, असोज १० गते । नेकपा (एमाले) का सचिव पदमा अर्यालले कानुनमन्त्रीले परीक्षामा असफल भएकालाई न्यायाधीश बनाएकोभन्दै आलोचना गर्नुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमाले गाउँकमिटीले आज गरेको कार्यक्रममा अर्यालले लोकतन्त्रको मर्मविपरीत कानुनमन्त्रीले काम गर्नुभएको आरोप लगाउनुभएको हो ।
‘योग्यता नै नपुगेका सरकारी वकिललाई मन्त्री पदको दुरुपयोग गरेर न्यायाधीश बनाउने काम भएको छ’, उहाँले भन्नुभयो । कानुनमन्त्री धनराज गुरुङले आफूलाई निर्वाचनका बेला जिताउन सहयोग गर्नुभएका निर्वाचन अधिकृत रामचन्द्र शर्मालाई न्यायाधीशमा मनोनीत गर्नुभएको उहाँले आरोप लगाउनुभयो ।
शर्मा वरियतामा पछाडि भएको बताउँदै अर्यालले न्यायाधीशको परीक्षामा फेल भएकालाई न्यायाधीश बनाउने काम भएको बताउनुभयो । शर्मालाई गुन तिर्ने काम कानुनमन्त्रीले गर्नु भए पनि त्यो पद्धतिअनुसार नभएको उहाँको भनाइ छ ।
एमाले सचिव अर्याल स्याङ्जा क्षेत्र २ बाट कानुनमन्त्री धनराज गुरुङसँग गत सङ्घीय चुनावमा पराजित हुनुभएको थियो । एमालेका उम्मेदवारले जितेको स्थानीय तहमा जनताको हितमा काम भइरहेको बताउँदै नेता अर्यालले एमालेको नीतिअनुसार काम गर्दा स्थानीय तहमा विकासले फड्को मारेको दाबी गर्नुभयो ।