• २६ मंसिर २०८०, मङ्गलबार

मलङ्गवामा कर्फ्यु खुकुलो, जनजीवन सामान्य

blog

जिल्ला प्रशासन कार्यालय मलङ्ग्वा ।

जनार्जन खत्री

सर्लाही, असोज ९ गते । सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । मङ्गलबार बजारका अधिकांश पसल खुलेका छन् । यातायात सुचारु भएपछि मानिसको आउजाउ बाक्लिएको छ । 

कर्फ्युका कारण चार दिनसम्म घरभित्रै थुनिएका स्थानीय आफ्नो काममा निस्कन थालेका छन् । कर्फ्यु खुकुलो पारिएपछि मङ्गलबारबाट खुलेका सदरमुकाम मलङ्गवाका अधिकांश कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । 

जिल्ला प्रशासन, मालपोत, नापी, नेपाल बैङ्क, विद्युत्लगायतका कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । प्रदेश तथा जिल्लाभित्रकै विभिन्न युनिटबाट थप मद्दतमा मलङ्गवा उतारिएको सशस्त्र तथा नेपाल प्रहरीलाई फिर्ता पठाउन थालिएको छ । 

गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति सेलाउन लैजानेक्रममा झडप भएपछि तनावग्रस्त बनेको मलङ्गवामा सोही दिन राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको थियो । सोमबार दिउँसोको समयमा कर्फ्यु हटाइसकिएको छ । 

राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश अझै कायम नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिउँसोको कर्फ्यु हटाइएपछि मलङ्गवाको अवस्था मङ्गलबारबाट थप सामान्य बन्दैगएको बताउनुभयो । 

रातिको समयमा कर्फ्यु कायमै रहेको र थप प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । स्थानीय प्रशासनले सामाजिक सञ्जालमा जथाभाबी लेखेर सामाजिक तथा धार्मिक सद्भाव बिगार्ने प्रयास भए साइबर अपराधमा मुद्दा दायर गर्ने चेतावनी जारी गरेको छ ।