• ९ मंसिर २०८१, आइतबार

मुगुमा धार्मिक मेला सुरु

blog

गुरादेवतासँग आफ्नो भविष्य भाग्यबारे धामीसँग भाग्य हेराउन आउनेहरू । तस्बिर: हरिकृष्ण ऐडी

मुगु, असोज ७ गते । मुगुमा धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने गुरादेव, विजयगुरादेव लगायतका मेलाहरू सुरु भएको हो । 

कोरोनाका कारण अघिल्ला तीन वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि  जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका , सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा असोज ७ गते नवमीका दिनबाट असोज पूर्णिमासम्म गुरादेव , विजय गुरादेवको परम्परागत धामी  धार्मिक मेलाहरू सुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार असोज नवमीका दिनबाट औपचारिक रूपमा मेला सुरु हुन्छन् ।  

धार्मिक अगुवा तथा गुरादेवताका धामी जुनबहादुर ऐडीका अनुसार जिल्लाका छायानाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका र खत्याड गाउँ पालिका बस्तीहरूमा औपचारिक रूपमा मेलाहरू सुरु भएका छन् । गुरादेवता सहितका देवताका पूजाआजा सुरुवात गरिएको बताउनुभयो । यस क्षेत्रमा गुरा, सुमाइजु, विजयगुरा, कालागुरा, हटीनाथ, कङ्काल्या , केशिनाथ, कालनाथ,लाटो सुमईजुसहितका दर्जनौँ देउताको पूजाआजा हुने गर्छ उहाँले भन्नुभयो। 

देवताका पुजारी(खावा)का अनुसार यहाँका समुदायको देवताले सुख दुःखमा साथ दिने र अनिष्ट,रोग कष्ट जस्ता दुःखमा देवताले साथ दिने जनविश्वास भएकाले  हरेक गाउँमा हिन्दुधर्म मान्यको घरमा कुल देवताको  पूजा गर्ने चलन छ । विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिँदै आउने चलनले यति बेला मुगुका धार्मिक स्थानमा मानिसहरूको भिड लाग्न सुरु गरेको छ । 

धार्मिक आस्थाअनुसार मन्दिर तथा थान बनाएर पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजा पाताले सजाउने काम गरिन्छ । पूजाको दिनमा स्थानीयले रातभरि देवता खेली  परिकारहरू मनाउने चलन रहेको सोरूँ गाउँपालिका ५ निवासी तथा विजयगुरा  देवताका पुजारी दानबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार असोज  पूर्णिमासम्म विभिन्न पूजाआजा हुने गर्छन्। 

पीडित पक्षले न्यायका लागि   गुरादेवतासँग  भाकल माग  गरेमा गुरादेवताले  न्याय दिलाउने जनविश्वासले यहाँका  परम्परागत विभिन्न धार्मिक सभ्यताको न्याय दिने  देवता मानिन्छ । यसलाई पर्यटकीय महत्वको बारेमा अझै विकास गर्न सकिएको छैन ।  यो समयमा  मेला हेर्नलाई जिल्लाका विभिन्न बस्तीबाट आन्तरिक पर्यटक मेला हेर्न दर्जनौँ भक्तजन आउने गरेका छन् स्थानीय अमरबहादुर कार्कीले भन्नुभयो।

Author

हरिकृष्ण ऐडी