• ६ जेठ २०८१, आइतबार

‘जलविद्युत् लगानीमा समस्या नहुने’

blog

काठमाडौँ, असोज ३ गते । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन सम्पन्न भएका जलविद्युत् आयोजनामा लगानीको समस्या नहुने बताउनुभएको छ । 

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) सँगको भेटमा उहाँले १० वर्षमा २० हजार मेगावाटका आयोजनामा लगानी सिर्जना गर्न सहज नै हुने बताउनुभएको हो ।  

भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले बैङ्कले विद्युत् आयोजनामा लगानी गर्न नसकेको भन्दै बैङ्क तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुेपर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसमक्ष आग्रह गर्नुभयो । 

जवाफमा अधिकारीले बैङ्कसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताउनुभएको हो । जलविद्युत् आयोजनामा व्यापक लगानी गरी वार्षिक १२ र १३ खर्ब रुपियाँको विद्युत् निर्यात हुने र उक्त परिमाणको विद्युत् निर्यात गर्न विकास गर्नुपर्ने विद्युत् आयोजनाका लागि लगानीमा समस्या नहुने बताउनुभयो । 

इप्पानले भने तत्कालै करिब तीन हजार ७०० सय मेगावाट आरओआर (जलप्रवाही) र दुई हजार २०० मेगावाट पिआरओआर (अर्ध जलाशय) आयोजना विकास गर्न आगामी पाँच वर्षमा झन्डै पाँच खर्ब ५५ अर्ब लाग्ने भन्दै जलविद्युत्मा  बैङ्कको  लगानी थप प्रवाहित  गर्नुपर्ने माग गरेको हो । 

राष्ट्र बैङ्कले २०० मेगावाटभन्दा ठुला आयोजनालाई आधार दरमा एक प्रतिशत मात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकामा उक्त व्यवस्था सबै जलविद्युत् आयोजनामा कार्यान्वयन गरिदिन इप्पानले आग्रह गरेको छ । 

बैङ्क तथा वित्तीय संस्थाले ऊर्जामा लगानी गरेको रकमको ब्याज अत्यधिक महँगो भएको भन्दै नेपाल सरकारको जमानतमा अन्तर्राष्ट्रिय बजारबाट सोभरियन बन्ड, ग्रिन बन्ड वा जलवायु बन्डको माध्यमबाट वित्तीय स्रोतको जोहो गरी नेपाल राष्ट्र बैङ्कमार्फत स्वच्छ ऊर्जाको क्षेत्रमा पुनर्कर्जाको व्यवस्था गरिदिन पनि इप्पानले अनुरोध गरेको थियो । 

जवाफमा गभर्नर अधिकारीले बन्डको विषय अर्थ मन्त्रालयको भएको तर राष्ट्र बैङ्क त्यसमा सहजीकरण गर्न तयार नै रहेको बताउनुभयो ।