• ८ कात्तिक २०८१, बिहिबार

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का

blog

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्ग ।

काठमाडौं, असोज २ गते । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच रक्षा मन्त्रालय, सिंहदरबारमा मंगलबार  शिष्टाचार भेट भएको छ । 

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काको निजी सचिवालयका अनुसार सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबिच सदियौँ पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपाल एक चीन नीतिप्रति सदैव दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

उहाँले नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगको लागि आभार व्यक्त गर्नुभयो । यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुराउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । 

सो अवसरमा राजदूत चेन सोङ्गले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । 

दुई देशबिच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिनुहुँदै चीनको लिन्ची सहरमा आगामी अक्टोबर ४ देखि ६ गतेसम्म हुने ‘द थर्ड ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल को–अपरेसन’ कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकृत साथै चिनियाँ राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।