• २० असोज २०८१, आइतबार

स्याँडावासीले मनाए चोखे पर्व

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २९ गते । सिमकोट गाउँपालिका–८ को घना बस्ती भएको स्याँडा गाउँवासीले यस वर्षको चोखे पर्व धुमधामका साथ मनाएका छन् । घरमा जन्मेको जेठो छोराका नाममा हिल्सा देवतालाई चोखे चढाएर पर्व मनाइएको हो । वडाध्यक्ष कमल बुढाले यस वर्ष चोखे पर्व निकै रमाइलो गर्दै मनाउने कार्य भएको बताउनुभयो । 

यो पर्व जनजाति (व्यासी) समुदायको बसोबास हुँदै आएको स्याँडा र अदानचुली गाउँपालिका–६ का पाल्स गाउँमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ । वडाध्यक्ष बुढाले तीन सयभन्दा बढी घरधुरी रहेको स्याँडा गाउँमा प्रत्येक घरमा जन्मेको जेठो छोराका नाममा देवतालाई बलि चढाएर परिवारका सदस्यले राम्रो होस् भन्ने कामना गर्छन् । पहिलो जन्मेको सन्तानप्रति कसैको आँखा नलागोस् भनेर पनि चोखे चढाउने गरिएको हो । यस वर्ष गाउँभरि एक जनाको मात्र चोखे चढाइएको छ । जब कि गत वर्ष १३ जनाको चोखे चढाइएको थियो । स्याँडाको बस्ती बसेदेखि चोखे पर्व मनाउने गरिँदै आएको छ । घरपरिवारले चोखे चढाएबापत आफन्तले उवा र कोदोको जाँडलाई सगुनका रूपमा ल्याउने गरिन्छ भने त्यसरी सगुन ल्याउनेलाई चोखे चढाउन परिवारले एक जोर कपडा दिने गर्छन् । 

त्यसै गरी चोखे चढाउने परिवारले छोराको मावलीतर्फ सबै परिवारलाई टाउकोमा ‘पद्दनी’ बेर्नुपर्ने हुन्छ । तीन दिनसम्म यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । देवताको पूजाआजापछि पुरुष दुई जोडी मिलेर प्रतिस्पर्धात्मक रूपमा फुर्का खेल्ने गरिन्छ । युवायुवती मिलेर रातभरि देउडा गाएर नाच्ने गर्छन् । चोखे पर्वका अवसरमा गाउँबाहिर रहनुभएका पर्व मनाउन गाउँ आउने गर्छन् भने अन्य छिमेकी गाउँबाट पनि पर्वको रमाइलो हेर्न आउने गर्छन् ।