गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ । व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएको तर्फ सञ्चारमाध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ ।
‘कोही पनि भ्रममा नपरौँ । सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन् । तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुकाइरहेका छन् । सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ’ अध्यक्ष बस्नेतले भन्नुभयो । खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा उहाँले सो सुझाव दिनुभयो ।
उहाँले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दैआएको जानकारी दिनुभयो । अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकामा केन्द्रित रही प्रस्तुति राखिएको थियो । डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान दिनुपर्ने विषयबारे काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पाराईले प्रकाश पार्नुभयो । कार्यक्रममा विभिन्न ३२ सञ्चार माध्यमका सञ्चालक र सम्पादकको सहभागिता थियो ।