• २० असोज २०८१, आइतबार

मुस्ताङको ठिनीमा जीवित मौलिक संस्कृति

blog

मौलिक याक नाच देखाउँदै ठिनीवासी । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, भदौ १८ गते । मुस्ताङको पर्यटकीय स्थल ठिनीका स्थानीयहरु मौलिक संस्कृति जोगाउन जुटेका छन् । ठिनी होमस्टे गाउँका रुपमा परिचित छ । ठिनीमा थकाली समुदायको मुख्य बसोबास छ । 

थकाली समुदायको मौलिक कला संस्कृति र परम्परालाई संरक्षण गर्न ठिनीवासीहरु सामुूक रुपमा सक्रिय छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ मा पर्ने ठिनी गाउँ प्राकृतिक, ऐतिहासिक र हिमाली संस्कृतिको अध्ययन गर्ने थलो हो । यहाँ थकाली समुदायको पुरानो कला संस्कृति जीवित छ ।


थकाली संस्कृति, सभ्यताको संरक्षण र पुस्तान्तरणका लागि ठिनीवासीले परम्परागत मेला पर्वलाई निरन्तरता दिएको वडाध्यक्ष प्रदीप थकालीले बताउनुभयो । यतिखेर भाद्र मेला (फाला) ठिनीवासीले धुमधामसँग मनाएका छन् । शनिबार र आइतबार गरेर दुई दिनसम्म चलेको मेलामा मौलिक संस्कृति झल्किने विभिन्न नाच प्रदर्शन गरेको वडाध्यक्ष थकालीले बताउनुभयो ।   

ठिनीवासीहरु आफ्नो पुरानो मौलिक कला संस्कृति संरक्षण गर्न जागरुक छन् वडाध्यक्ष थकालीले भन्नुभयो, ‘‘ठिनीमा थकाली कला संस्कृति र परम्परा अझै जीवित छ । नयाँ पुस्ता संस्कृतिको संरक्षणमा जुटेका छन् । थकाली सभ्यताको संरक्षण र प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने हाम्रो अभियान छ ।’’ 

संस्कृतिको संरक्षण र प्रवर्धनका लागि वडाले पनि आवश्यक सहयोग गरेको उहाँको भनाइ छ । दुई दिनसम्म सञ्चालन भएको फाला मेलामा याक नाच, झाँकी, लोपोन्मुख ढुङग्री नाच, थकोर्चेन राजाको पालामा गरिने योद्धा नाच तथा सांस्कृतिक कार्यक्रमका साथै परम्परागत नाटक प्रस्तुत गरिएको उहाँले बताउनुभयो । 


ठिनीको संस्कृति, परम्परा, भेषभूषा र पर्व जोगाउन यहाँका स्थानीय युवकयुवती पनि सक्रिय भएको स्थानीय जनमुक्ति युवा क्लब ठिनीका सचिव निरज थकालीले बताउनुभयो ।