• २० असोज २०८१, आइतबार

चित्लाङमा हिलेजात्रा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ १६ गते । मकवानपुरको ऐतिहासिक बस्ती थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा शुक्रबार हिलेजात्रा आयोजना गरिएको छ। लामो समयदेखि रोकिएको ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिलेजात्रा) यो वर्ष पुनः आयोजना गरिएको हो। जात्रा आइतबारसम्म चल्ने स्थानीय राजन बलामीले जानकारी दिनुभयो। उहाँका अनुसार जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर बिहानको ११ बजेदेखि राति ७–८ बजेसम्म नाचगान गरिन्छ।

जात्रामा गोरु एक हल, हली, बाउसे चार जना, रोपार तीन/चार जना, राजा एक जना, रानी दुई जना, राम, लक्ष्मण र हनुमान, कात्तिक नाचमा जस्तै तीन जना जोगीलगायतका पात्र हुने गर्छन्। योसँगै कात्तिक नाचमा जस्तै बाजा बजाउनेलगायत झन्डै १५ जना गुरु रहने बलामीले बताउनुभयो। रोपाइँजात्रा जस्तै हो बलामीले भन्नुभयो, “रोपाइँ भएको छ छैन सोध्ने, रोपाइँ गर्ने र मनोरञ्जनका लागि राजारानी र भगवान्को नाच प्रदर्शन गर्ने गरिन्छ । देउसिरेमा जस्तै मागिन्छ। जात्रामा गएकालाई रोपाइँमा जस्तै खाजा, ज्यालाका अतिरिक्त कतिपयले पूजा सामग्री र पूजा खर्च दिने प्रचलन छ।