• ९ मंसिर २०८१, आइतबार

लैङ्गिक अल्पसङ्ख्यकको ‘गाईजात्रा प्राइड परेड’

blog

काठमाडौँ, भदौ १५ गते ।  नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिआई) समुदायले विभेदरहित र लाञ्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तिको माग राख्दै काठमाडौँमा २० औँ नेपाल गौरवयात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । सांस्कृतिक पर्वका रूपमा रहेको ‘गाईजात्रा’ पर्वको अवसरमा नेपालस्थित अमेरिकी दूतावास र राइट टु राइट हेयर नामक संस्थाको सहयोगमा नीलहीरा समाजले गाईजात्रा उत्सवको आयोजना गरेको हो । एक वर्षभित्र दिवङ्गत भएका आफ्ना समुदायका व्यक्तिहरूको सम्झनामा समाजले सप्तरङ्गी दीप प्रज्वलनको समेत आयोजना ग¥यो ।

उत्सवमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आचार्य, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन, डेनिस राजदूतावासका प्रतिनिधिलगायतले यौनिक तथा लैङ्गकि अल्पसङ्ख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्न सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोप्रति खुसी व्यक्त गर्नुभयो । नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले समुदायका व्यक्तिमाथि विभेद र अपमानपूर्ण व्यवहारका कारण आत्महत्या र मानसिक समस्या बढ्दै गएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुई दशक लडेर हामीले धेरै अधिकार प्राप्त त गरिसकेका छौँ तर अझै पनि समाजको दृष्टिकोण फेरिएको छैन । अपमान र लाञ्छना कायम रहेकाले सम्मानजनकपूर्वक बाँच्ने वातावरण सबै नागरिकले बनाइदिनु हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।”

ठमेलबाट सुरु भएको उत्सव वसन्तपुर, नयाँसडक हुँदै टुँडिखेलमा पुगेर समापन भएको थियो । सोही अवसरमा समाजले टुँडिखेलमा ‘गाईजात्रा प्राइड परेड कन्सर्टको पनि आयोजना गरेको छ । कन्सर्टमा समुदायका कलाकारका साथै कलाकारहरू प्रकाश सपुत, कुटुम्ब व्यान्ड, सुभानी मोक्तान, एलिना चौहानलगायतका कलाकारहरूले प्रस्तुति दिनुभएको थियो ।