• १३ साउन २०८१, आइतबार

दुई अर्ब ९३ करोडको तरकारी तथा फलफूल निकासी

blog

बन्दा विक्रीको लागि तयार गरिँदै धनकुटाका नगरपालिका वडा नम्बर दुई गुराँसेका कृषक ।

कबिराज घिमिरे 

हिले, भदौ १४ गते । धनकुटा जिल्लाबाट बितेको आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपियाँको तरकारी तथा फलफूल जिल्ला बाहिर निकासी भएको छ । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटाबाट सबैभन्दा बढी १ अर्ब २८ करोड रुपियाँमा ३२ हजार मेट्रिकटन गोलभेँडा निकासी भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै, बन्दा ६१ करोड ७० लाख बराबरको २४ हजार ६ सय ८० मेट्रिक टन र ४३ करोड ९२ लाखको ७ हजार ३ सय २० मेट्रिकटन काउली, १७ करोड ७५ लाखको चार हजार १ सय ५२ मेट्रिकटन अदुवा, ७ सय ८४ मेट्रिकटन अकबरे खुर्सानी ११ करोड ७६ लाखमा र ९५ दशमलव २ मेट्रिकटन भेडे खुर्सानी एक करोड १४ लाख २४ हजारमा निकासी भएको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

नगदे तथा फलफूल बालीतर्फ १६ करोड ८९ लाख बराबरको दुई हजार ८ सय १५ मेट्रिकटन सुन्तला, तीन करोड ८० लाख बराबरको ४० मेट्रिकटन किवी, तीन करोड ६० लाखको ३६ मेट्रिकटन अलैँची, दुई करोड ३३ लाख बराबरको २ सय ७४ मेट्रिकटन एभोकाडो, एक करोड ९० लाखको ७ सय ६० मेट्रिकटन काँक्रा र ५७ लाख ६० हजार बराबरको एक सय ६० मेट्रिकटन आँप निकासी भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुरज खनालले जानकारी दिनुभयो । 

बजारको समस्या नभएको र कृषकलाई आधुनिक उपकरणको सहयोग स्थानीय तह र कृषि ज्ञान केन्द्रले गरेका कारण कृषकलाई सहज भएको किसानले बताएका छन् । जिल्लामा उत्पादित तरकारी सुनसरी, मोरङ, झापाका विभिन्न बजार हुँदै भारतसम्म निकासी हुने गरेको छ ।

सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती हुने धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै, धनकुटाबाट गत वर्ष सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदेबाली जिल्ला बाहिर निकासी भएको छ ।