चितवन समाचारदाता
चितवन, भदौ १० गते । सुरक्षित भवनको अभावमा चितवनको जिल्ला अदालतमा पानी चुहिने कोठाबाट न्याय सम्पादन गर्नुपर्ने बाध्यता छ । मुद्दाको चाप वृद्धि भएपछि अहिले जिल्ला अदालतमा इजलास वृद्धि गरेर सात वटा बनाइएको छ । ती इजलास पक्की भवनमा राख्न सम्भव नभएपछि टिनको टहरो निर्माण गरेर राखिएको छ । टिनको टहरोमुनि रहेका तीन वटै इजलासमा पानी चुहिने समस्या भएको जिल्ला अदालतका सूचना अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
“नयाँ भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको थियो । केही वर्षका लागि भनेर अस्थायी टहरो निर्माण ग-यौँ । अहिले पानी चुहिने समस्या आएको छ । भाडा थापेर पानी व्यवस्थापन गर्दै आएका छौँ,” सूचना अधिकारी सापकोटाले भन्नुभयो । अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले ५ नं. इजलासमा न्यायाधीशको कुर्सीमाथि नै पानी चुहिने गरेको बताउनुभयो । चार वर्षअघि बनेका यी टहरा पनि साँघुरो भएको आचार्यले बताउनुभयो ।
पर्याप्त स्थानको अभावमा न्याय सम्पादन गर्न समस्या भएको जिल्ला न्यायाधीश रितेन्द्र थापाले जानकारी दिनुभयो । “अहिले भइराखेको भवन पुरानो भयो भनेर नयाँ भवनका लागि हामीले प्रस्ताव गरेका थियौँ । भवनको डिजाइन आएको थियो केही विषय अपुग भएकाले सच्याउन पठाएका थियौँ । यो प्रक्रिया पूरा हुँदा सरकारले यो आर्थिक वर्षमा नयाँ भवन नबनाउने भनेर बजेट ल्याएको छ, सरकारको निर्णयले नयाँ भवन बन्ने सम्भावना सकियो,” न्यायाधीश थापाले भन्नुभयो ।
नयाँ भवनका लागि दुई वर्षअघि सर्भे र डिजाइन गर्न दुई करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्यो रकम फ्रिज भएको थियो । मुद्दाको चापलाई हेरेर न्यायाधीशको दरबन्दी थप गरिएको छ तर इजलास राख्ने स्थानको अभाव भएको अदालतले जानकारी गराएको छ । चितवन जिल्ला अदालतमा वर्षभरमा साढे तीन हजारभन्दा बढी मुद्दा सात जना न्यायाधीशले हेर्नुपर्ने बाध्यता छ । मुद्दाको चापलाई हेर्दा ११ जना न्यायाधीश आवश्यक पर्ने बताइएको छ ।
अदालतमा एउटा बाल इजलास हुनुपर्ने भए पनि भवनको अभावमा अलग्गै बाल इजलास छैन । जिल्ला अदालतमा अहिले बालबालिकासम्बन्धी मुद्दा एक सय वटा दर्ता भएका छन् । यो अघिल्लो आवदेखि सर्दै आएको हो । आव २०८०/८१ को साउनमा मात्रै नौवटा दर्ता भएको थियो भने तीन वटा फस्र्योट भएको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।