• २० असोज २०८१, आइतबार

उपाध्यक्ष लामाद्वारा तिलौराकोटसहित बुद्धस्थलहरुको निरीक्षण

blog

तिलौराकोट बारे जानकारी लिइँदै कोषका उपाध्यक्ष लामा । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, भदौ ९ गते । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ । उहाँले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउनेतर्फ ध्यान दिने बताउनुभयो ।

संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्रीसमेत रहेका लामाले प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तु निकै महत्त्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरूलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताउनुभयो । तिलौराकोट दरबारमा तत्काल दुवै साइडमा रहेका झाडी, बुट्यानहरूको सरसफाइ, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने उहाँले बताउनुभयो । डा. लामाले विश्वभरका बौद्धमार्गीहरुलाई एक पटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गर्नुभयो ।

बृहत्तर लुम्बिनी बुद्धिस्ट सर्किट बनाउने र यसको प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी आगामी महिनादेखि हजारौँ धार्मिक पर्यटकहरू भित्राउन  सुरु गर्ने उपाध्यक्ष लामाले बताउनुभयो । उपाध्यक्ष डा. लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्त्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने उहाँको भनाइ छ । ‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिँदै छु’ उपाध्यक्ष लामाले भन्नुभयो–‘स्थानीय, अगुवाहरू, पत्रकारहरूको सुझावका आधारमा बुद्ध जन्मस्थलसहितका क्षेत्रहरूको विकास गर्नेछु ।’ आफू परिणाममुखी काम गर्ने गरी जिम्मेवारी समालेको उहाँको भनाइ छ ।

उपाध्यक्ष डा.लामासहितको टोलीले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरौराकोट, सिसनिया र जगदीशपुर ताल लगायत स्थानहरूको अवलोकन तथा निरीक्षण गरेको हो । निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचीन कपिलवस्तु, तिलौराकोट दरबार र कपिलवस्तुका बौद्धस्थलहरुका बारेमा जानकारी गराएका थिए । निरीक्षणमा कोषका परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यलगायतको सहभागिता थियो ।